प्यूठान । विद्यालय ब्यबस्थापन समितिको क्षमताअभिबृदि गर्नका लागि मल्लरानी गाउँपालिकाले शिक्षाविद सहित अन्तरक्रिया गरेको छ । शिक्षाविद प्रा.डा. विद्यानाथ कोइरालाको उपस्थितिमा
शैक्षिक गुणस्तर अभिवृद्धि तथा अपराध न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि तथा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोईरालाले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरुको भुमिका महत्वपुर्ण हुने, शिक्षाले नै अध्यारोबाट उज्यालो तर्फ डोर्‍याउने बताउनुभयो । उहाँले शिक्षाबाट नै समृद्धि हासिल गर्न सकिने र यसबाट एउटा परिवार देखी गाउँ समाज हुँदै समग्र देशको विकास हुने कुरा व्यक्त गर्नुका साथै शिक्षकहरुलाई उत्प्रेरित हुने र मनोबल बढाउने किसिमका व्यवहारिक पक्षहरु समेत व्यक्त गर्नुभएको थियो । शिक्षकहरुले बालबालिकाको मनोभावना बुझी व्यवहारहरु गर्नुपर्ने र सँधै सकारात्मक सोँचका साथ आफ्नो कर्तव्य पालना गर्नुपर्ने कुरा बताउनु भएको थियो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापाले प्युठान जिल्ला तथा मल्लरानी गा.पा.मा हुने अपराधको तथ्यांक प्रस्तुत गर्दै अपराध न्युनिकरणमा विद्यालय र शिक्षकहरुको भुमिका र किशोरावस्थाका बालबालिकाहरु कसरी अपराधमा संलग्न हुन सक्छन भन्ने बारेमा प्रष्ट पार्नुभएको थियो । उहाँले किशोरावस्थाका विद्यार्थीहरुबाट हुन सक्ने अपराधजन्य क्रियाकलापहरु न्यूनिकरण गर्न समयसमयमा विद्यार्थीहरुलाई सचेत एवं जिम्मेवारीबोधका साथ यस्ता क्रियाकलापहरुलाई निरुत्साहित तथा नियन्त्रण गर्न प्रहरीलाई समयमै सुचना दिई जिम्मेवार नागरिकको भुमिका निर्वाह गर्नुपर्ने कुरा समेत व्यक्त गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले शिक्षाविद् प्रा.डा. विद्यानाथ कोईरालाले व्यक्त गरेका कुराहरुलाई मनन गरी शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरुले आफ्नो कर्तव्यलाई निष्ठा पूर्वक पालना गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्क्षय रमेश श्रेष्ठले कार्यक्रममा उपस्थित सम्पुर्णमा स्वागत मन्तव्य राख्दै, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि यो कार्यक्रम फलदायी हुने बताउनुभयो ।

मल्लरानी गाउँपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्यमा जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको अध्यक्षता, शिक्षाविद् प्रा. डा. कोईरालाको प्रमुख आतिथ्यता, गाउँपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख कर्ण बहादुर बुढा क्षेत्री, जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्र.ना.उ. इश्‍वर थापा, प्रमुख प्रशासकिय अधिकृत गिर बहादुर सेजुवाल, पालिकाका जनप्रतिनिधिहरु, कर्मचारी, पालिका अन्तर्गत रहेका विद्यालयहरुका, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, प्रधानाध्यापक तथा शिक्षकहरु लगायत ५८ जनाको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय