प्युठान । नेपालमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजबाट शुरु भएको छ। नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाइने गरिन्छ।‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ यो अभियान शुरु भएको हो ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलाइन्छ। सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले यसको अनुमोदन गरेपछि यससम्बन्धी विभिन्न अभियान शुरु भएको हो।
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यको लागि कानुनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने आवाज उठिरहेको छ । त्यस्तै, महिला हिंसा घटाउन उपचारात्मक सेवाका साथै प्रवद्र्धनात्मक उपाय र प्रतिबन्धात्मक उपायको पनि अनुसरण गर्नु त्यति नै आवश्यक रहेको सरोकारवालाहरुको भनाइ छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार सरकारले महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको जानाएको छ । अभियान अवधिभर सरोकारवाला निकायको समन्वयमा देशव्यापी कार्यक्रम गरिने छ। प्युठानमा पनि यो कार्यक्रम संचालन गरिने सरोकारवालाले जनाएका छन् ।