काठमाडौँ । चितवनको सिमलतालस्थित पहिरोले दुई वटा डिलक्स बस बगाउँदा ६५ जना यात्रु बेपत्ता भएको घटनामा हालसम्म खोजतलासको क्रममा २३ जनाको शव भेटिएको छ । शुक्रबार बिहान १०:५० बजेसम्ममा कुल २३ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । दुवै बसमा गरी ६५ यात्रु रहेकोमा तीन जनाले आफुलाई हाम फलेर ज्यान बचाउन सफल भएका थिए। ती मध्ये अझैसम्म कम्तिमा ३९ यात्रु बेपत्ता रहेका छन् ।
चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालको पहिरोमा परि नदीमा खसेको बसमा सवार २३ जनाको शव भेटिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। सशस्त्र प्रहरीका अनुसार ९ जनाको सनाखत हुन सकेको छैन । सनाखत नभएका शवहरु ८ जना पुरष र १ जना महिलाको रहेको छ ।
त्यस्तै सनाखत हुनेमा भारतका ऋषिपाल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप बिक, बाराका परमानन्द पण्डित, चन्द्रनिगापुरका किशोरकुमार चौधरी, रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी र रौतहटकी अमृता कुमारीको शव सनाखत भएको प्रहरीले जनाएको छ ।
दुबै बसमा सवार अन्य यात्रु र दुवै बस अहिलेसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भरतपुर महानगरपालिका स्थित गोलाघाट, पूर्वी नवलपरासीमा पर्ने ब्यारेज पुल, गण्डक नहर र नवलपरासी पश्चिमको त्रिवेणीमा शव केही फेला परेका छन् । पूर्वी नवलपरासीमा १६ वटा शव भेटिएको र अन्य स्थानमा ७ गरि कुल २३ मृतकको शब फेला परेको प्रहरीले जनाएको छ।
राज्यका सबै संयन्त्र परिचालन गरेर त्रिशुलीमा बेपत्ता रहेका दुवै बसको नेपाली सेना र सशस्त्रका गोताखोरले खोजी रहेपनि अहिलेसम्म फेला पार्न सकिरहेका छैन । वर्षात परिरहेको र नदिको पानी धमिलो र बहाव बढी भएकोले खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ ।
यही असार २८ गते राति काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका थिए ।



S.K. Creative Media Group