काठमाडौं । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । बुधबार आकस्मिक बसेको मन्त्रिपरिषद्को बैठकले विमान दुर्घटना बारे छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहनुभएको छ । मन्त्री गुरुङका अनुसार आयोगको सदस्यसचिवमा नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल तोकिनुभएको छ ।

आयोगलाई ४५ दिन म्याद दिइएको छ । सौर्य एअरको बिमान काठमाडौ.बाट पोखरा उडेलगत्तै आज बिहान त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमै दुर्घटनामा परेको थियो । चालक दलका सदस्यसहित १९ यात्रु सवार सो बिमानमा पाइलट मनिष शाक्यबाहेक सवैको ज्यान गएको छ ।

आगामी दिनमा हवाइ दुर्घटना हुन नदिन आन्तरिक वायु सेवा चलाइरहेका सबै वायुसेवाले नियमित हवाई परीक्षण गराउनुपर्ने र त्यसको नेपाल नागरिक उड्डयान प्राधिकरणले त्यसको सघन अनुगमन गर्ने निर्णय समेत भएको सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय