काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।

आइजीसी बिजनेस होल्डिङ नेपाल र केइरिनकन कम्पनी लिमिटेड जापानबिच सूचना प्रविधि (आइटी) क्षेत्रमा संयुक्त लगानीका लागि आज आयोजित सम्झौता कार्यक्रममा बोल्दै भण्डारीले लगानीकर्ताको लागि सरकाले सकारात्मक वातावरण बनाउने बताउनुभयो । ‘हामी यस क्षेत्रमा लगानी भित्र्याउन आवश्यक सहयोग प्रदान गर्न प्रतिबद्ध छौँ र लगानीकर्ताहरूका लागि सकारात्मक वातावरण सिर्जना गर्न सरकार पनि तयार छ’, उहाँले भन्नुभयो ।

भण्डारीले वैदेशिक लगानीकर्तालाई प्रोत्साहन गर्दै सूचना प्रविधि क्षेत्रलाई प्रभावकारी बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । यो सम्झौताले दुई राष्ट्रबिचको प्रविधि सम्बन्धमा नयाँ युगको सुरुवात भएको उहाँले दाबी गर्नुभयो । ‘यो नयाँ सूचना र प्रविधि उद्यम स्थापनाको साक्षी हुँदा हामीले व्यापार सम्झौतामा हस्ताक्षर मात्र गर्दैनौँ, हामी नेपाल र जापानबिच पुल निर्माण गरिरहेका छौँ’, उहाँले भन्नुभयो ।

प्रत्यक्ष वैदेशिक लगानीले आर्थिक वृद्धि, रोजगारी सृजना र प्रविधि तथा ज्ञानको हस्तान्तरणमा सहजिकरण गर्ने उहाँले बताउनुभयो । ‘यसले विशेष गरी हाम्रो द्रुत गतिमा अन्तर्राष्ट्रिय लगानी र नवप्रवर्तनका लागि अनुकूल वातावरण सिर्जना गर्ने नेपालको साझेदारी प्रतिबद्धतालाई मूर्त रूप दिन्छ’, भण्डारीले भन्नुभयो ।
आइजीसी बिजनेस होल्डिङका अध्यक्ष गणेशमान लामा र केइरिनकन कम्पनी लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यक्रम अधिकृत (सीइओ) सतोशी सातोले सम्झौतामा हस्ताक्षर गर्नुभयो । दुवै पक्षले नेपाललाई डिजिटल रूपान्तरणको मार्गमा अघि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


आइजीसीका अध्यक्ष लामाले आजको कार्यक्रम केवल सम्झौता पत्रमा हस्ताक्षरको मात्र नभई नेपाल र जापानबिच सहकार्य, विकास तथा साझा दृष्टिकोणको यात्रा भएको बताउनुभयो । उहाँले सूचना प्रविधि क्षेत्रमा यो प्रतिबद्धताले नेपाललाई डिजिटल रूपान्तरण र प्राविधिक नवप्रवर्तनतर्फ लैजाने काममा सहयोग पुर्‍याउने बताउनुभयो ।

केइरिनकनका अध्यक्ष तथा सीईओ सताेशी सातोले पनि यस संयुक्त लगानीप्रति आफ्नो उत्साह प्रकट गर्दै यो सहकार्यले व्यापारिक सम्बन्धलाई मात्रै नभई नेपाल र जापानबीचको गहिरो द्विपक्षीय सम्बन्धलाई पनि मजबुत बनाउने बताउनुभयो । उहाँले यस साझेदारीको माध्यमबाट नेपालमा आफ्नो व्यवसाय विस्तार गर्ने इच्छा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय