काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेल/ मट्टितेलको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा निगमले पेट्रोलको प्रतिलिटर २ तथा डिजेल/ मट्टितेलको प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाएको हो ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेशनले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको क्रमशः २ रुपैयाँ १२ पैसा र ४ रुपैयाँ ०९ पैसा घटेर आएको थियो ।
आयल निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमश : एक सय ६७ रुपैयाँ ५० पैसा, एक सय ६९ रुपैयाँ र एक सय ७० रुपैयाँ तोकेको छ । यस्तै पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः एक सय ५७ रुपैयाँ ५० पैसा, एक सय ५९ रुपैयाँ र एक सय ६० रुपैयाँ कायम गरेको प्रेआ बिज्ञप्तीमा उल्लेख गरेको छ ।
यस्तै एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१ रुपैयाँ १४ पैसा बढेर आएको भएपनि आमउपभोक्ताको हितलाई ध्यानमा राखेर यथावत राखिएको छ ।