लमजुङ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समितिको प्रतिवेदनले दोषी देखाएका सबैमाथि सरकारले अनुसन्धान अघि बढाउने बताउनुभएको छ । गृह जिल्ला लमजुङमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले आज सो कुरा बताउनुभएको हो ।

रास्वपाका सभापति रबि लामिछाने पक्राउ परेपछि अनुसन्धान प्रभावित पार्न र न्यायालयमाथि दवाव दिन सडकमा बितण्डा मच्चाइरहेको बेला सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनुसन्धान नरोकिने प्रष्ट बटमलाइन सुनाउनु भएको हो । सञ्चारमन्त्री गुरुङले जतिसुकै ठूलो दवाव आए पनि सहकारी ठगीमा अनुसन्धान नरोकिने कार्यान्वयनमा कसैको दवावले नखोकिने प्रष्ट पार्नुभयो ।

‘माननीय सूर्य थापा नेतृत्वको सर्वपक्षीय संसदीय छानविन समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन अघि बढाएको छ । यही क्रममा ६ सयजना जति अनुसन्धानको दायरामा आइ पक्राउ परेका छन । रबि लामिछाने पनि उही क्रममा पक्राउ परेका हुन । कोही भ्रममा पर्नु वा भ्रममा पार्न जरुरी छैन,’ एमाले लमजुङले आज आयाजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सञ्चार मन्त्री गुरुङले भन्नुभयो ।

उहाँले सरकार सुशासनमा दृढताका साथ अघि बढेको भन्दै रोक्न कोशिष गर्नेहरुको अभियान सफल नहुने र दोषी प्रमाणित भए सजाय भोग्न तयार हुनुपर्ने प्रष्ट पार्नुभएको छ । ‘सहकारी ठगीमा सत्तापक्ष र बिपक्षी भन्ने हेरिन्न, छानविनका दायरामा परेका सवैमाथि अनुसन्धान अघि बढछ, सडकमा जतिसुकै भीड देखाए पनि केही हुनेवाला छैन,’ मन्त्री गुरुङले भन्नुभयो ।

उहाँले अपराध गर्ने जोकोही पनि अव बच्न नसक्ने तथ्यलाई आत्मसात गरी अनुसन्धानमा सहयोग गर्नुको बिकल्प नरहेको प्रष्ट मान्यता पनि सुनाउनु भएको छ । मन्त्री गुरुङले सडकमा बितण्डा देखाएर सुशासनको बिपक्षमा रास्वपा उभिएको हो भन्ने प्रष्ट पनि गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय