बुटवल । नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले किसानलाई दिने अनुदान दुरुपयोग हुने प्रवृति बढ्दै गएको बताउनुभएको छ । उहाँले विचौलियाको हातमा अनुदान जानबाट रोक्न आफूहरुले कडा कदम चाल्ने दाबि गर्नुभयो ।

नेपाली कांग्रेसको भातृ संस्था नेपाल किसान महासंघका अध्यक्ष तिमिल्सिनाले सरकारी अनुदान लिएर दुरुपयोग गर्नेहरुको खोजी गर्नुपर्ने बताउनुभयो ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले बिहिबार गरेको साक्षात्कार कार्यक्रममा राष्ट्रिय किसान सञ्जालका अध्यक्ष समेत रहेका तिमिल्सिनाले अनुदान लिनेहरुको तथ्याँक खोजेर आम समुदाय सार्वजनिक गर्ने चेतावनी पनि दिनुभयो ।

अध्यक्ष तिमिल्सीनाले भन्नुभयो, “किसानको हक अधिकारविरुद्ध कुनैपनि सरकारसँग पनि साँठगाठ गर्दिन, मेरो आफ्नै पार्टीको सरकार हुँदा किसानको हक अधिकार विरुद्ध मैले कुनै सम्झौता गरेको छैन ।” उहाँले किसानको अधिकार हनन भए जुनसुकै प्रतिरोध गर्न पनि तयार रहेको दावी समेत गर्नुभयो।

सञ्जालको अध्यक्ष भएपछि आफूले किसानलाई धानको मुल्य दिलाएको, कालिमाटी तरकारी तथा फलफूल बजारलाई व्यवस्थित वनाएको समेत जिकिर गर्नुभयो । उहाँले लम्पी स्किनबाट पीडित किसानलाई राहत दिन क्षतिपूर्ति र बिमाको लागि लडेको, किसानले पाउने दुध र उखँुको मूल्यको लागि कडा संघर्ष गरेको समेत उल्लेख गर्नुभयो ।

किसान महासंघका अध्यक्ष तिमिल्सिनाले आन्दोलन र दबाबको नाममा कृषि उत्पादन सडकमा नफाल्न किसानलाई आग्रह समेत गर्नुभयो । विक्री नभएमा गरिब र विपन्न परिवारलाई दिन अनुरोध गर्दै उहाँले बढ्दो रासायनिक र विषादी प्रयोगले धेरै नागरिकहरुमा क्यान्सर जस्तो घातक रोगको संख्या बढ्दै गएकाले राज्यले समयमै जिम्मेवार भएर नियन्त्रण गर्न सुझाव दिनुभयो । उहाँले कृषिमा यान्त्रिकरण गरेर युवा पलायनलाई रोक्न विदेशको नीति भन्दा देशको भूगोलको अवस्था अध्ययन गरेर कृषि नीति बनाएर रोक्न तर्फ सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

तिमिल्सिनाले किसान महासंघको महाधिवेशन जुनसुकै अवस्थामा पनि गर्न आफू तयार रहेको बताउँदै नेपाली कांग्रेसले अधिवेसन गर्न भनेमा आजको ३०–३५ दिन भित्र अधिवेशन गर्न आफू तयार रहेको समेत बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय