काठमाडौं । जल तथा माैसम विज्ञान विभागको माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । त्यस्तै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बिभागले जनाएको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भागको मौसम सामान्यतया सफा रहने महाशाखाकाे पूर्वानुमान छ ।
देशको तापक्रम क्रमशः गिरावट हुँदै त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन बिभागले सुझाएको छ । तापक्रममा गिरावट हुँदा चिसो बढ्ने भएकोले बालबालिका बृद्धअबश्थाका मानिसलाई चिसोबाट बचाउन समेत अनुरोध गरेको छ ।