
प्यूठान । जिल्लामा मृगौला फेल भएका बिरामीको उपचारका लागि डायलासिस मेसिन खरिद गर्न प्यूठान उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ । मेसिन खरीद गर्न संघले एक लाख रुपियाँ सहयोग गरेको हो ।
शनिवार स्वर्गद्वारीमा बसेको लायन्स क्लब अफ ३२५ N को तेस्रो क्याबिनेट बैठककाे अवसरमा संघका अध्यक्ष पशुपति नारायण नकर्मीले चेक हस्तान्तरण गर्नुभएको हो । प्यूठान अस्पतालबाट सेवा प्रवाह गर्ने गरि डायलिसिस मेसिन खरीदकाे लागि लायन्स क्लब अफ प्यूठानले प्रक्रिया अघि बढाएको छ । डायलासिस परियोजना अन्तर्गत लायन्स क्लब ईन्टरनेसनलले एक करोड ३० लाख २७ हजार पाँच सय ४७ रुपैया उपलब्ध गराएको छ ।
परियोजना अन्तर्गत ७५ प्रतिशत लागत रकम लायन्सले उपलब्ध गराएको लायन्स क्लब प्यूठानका प्रथम उपाध्यक्ष नबिन कुमार श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय सरकारले ब्यहोर्ने २५ प्रतिशत रकम उठ्न बाकी छ ।
किन गर्नुपर्छ डायलासिस
डायलासिस भनेको मिर्गौलाले काम गर्न नसक्दा शरीरमा जम्मा भएका अधिक मात्राको पानी, लवण, फोहोरलाई रगतबाट फाल्ने प्रक्रिया हो ।
मृगौलाको काम गर्ने क्षमतामा ह्रास आउनेबित्तिकै रगतमा जम्मा भएको फोहोरलाई मिर्गौलाले फाल्न सक्दैन । शरीरले फोहोर बाहिर फाल्न नसक्ने अवस्थामा डायलासिस सुरु गराउनुपर्ने हुन्छ ।
मृगौलाले काम गर्न छोडेपछि डायलासिस गरिन्छ । जिल्लाम यो सुबिधा नहुदा बिरामी लमही, नेपालगन्ज, बुटवल जानुपर्ने बाध्यता छ ।