काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ हुलाक टिकट ‘पञ्चमार्क मुद्रा’ र ‘भित्रीकोट दरबार’ टिकटको आवरणमा टाँचा प्रदान गर्नुभएको छ । भगवान गौतम बुद्धको राजप्रसाद रहेको प्राचिन कपिलवस्तु तिलौराकोटको खोजअनुसन्धान गरी जमिनबाट उत्खनन् गरिएको ऐतिहासीक ‘पञ्चमार्क मुद्रा’ हो भने प्यूठान जिल्लास्थित ‘भित्रीकोट दरबार’ नेपाल बाइसे र चौविसे राज्यमा विभाजित रहेको समयमा चौविसे राज्य अन्तर्गतको शक्तिशाली राज्यको रुपमा रहेको मानिन्छ ।
हुलाक टिकटमा लोपोन्मुख कला संस्कृति समेटिनुपर्छ : सञ्चारमन्त्री गुरुङ
मन्त्री गुरुङले हुलाक टिकटमार्फत समाजको लोपोन्मुख, रैथाने र परम्परागत कला संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभएको छ । हुलाक सेवा विभागले आज सप्ताहव्यापीरुपमा आयोजना गरेको राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा हुलाक टिकट प्रदर्शनी कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले हुलाक विभागले अब आवेदन आव्हान गरेर मात्र होइन, आवश्यक परेको खण्डमा ऐतिहासिक विषयबस्तु खोजेर टिकट प्रकाशन गर्नुपर्ने सुझाव दिनुभएको हो ।
नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले हुलाक टिकट एउटा कागजको टुक्रा मात्र नभई यसले देशको पहिचान र इतिहासलाई सधै जगेर्ना गर्ने दस्तावेज समेत रहेको बताउनुभयो । साथै उहाँले टिकटमा राजनीतिक गतिविधि र सत्तामा रहेका नेताहरुको बढी टिकट भए पनि मुलुकमा लोपोन्मुख रहेका कला संस्कृति, वनजन्तु, रैथाने जीवनशैलीहरु खोजेर दस्तावेज गर्न छुटेको बताउनुभयो । उहाँले विभागलाई निर्देशन दिँदै भन्नुभयो, “हामी धेरै राजनीतिक टिकट बनाउन जोड दियोँ, समाजका अन्य महत्वपुर्ण विषय छुटेका छन् ।” मन्त्री गुरुङले समाजका रैथाने मुल्यमान्यता, जीवनशैली, पर्यटनलाई प्रवर्धन गर्नेखालका विषयवस्तु समेत हुलाक सेवाले आफैँले पहिचान गरी छाप्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले हुलाक टिकटलाई समयसापेक्ष आधुनिकिरण गर्न मन्त्रालय सधैँ तत्पर रहेको जानकारी गराउँदै जनसेवामुखि भएर हुलाक सेवामा काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले हुलाक टिकटलाई आवश्यक पर्ने बजेट व्यवस्थापन गर्न मन्त्रालय कटिबद्ध रहेको बताउनुभयो ।
हुलाक सेवा विभागका महानिर्देशक मनमाया पंगेनी भट्टराईले हुलाक टिकटको ऐतिहासिक महत्व दर्शाउँदै विभागले पुरातात्विक महत्व राख्ने विषयबस्तु खोजेर टिकट बनाउनेतर्फ कार्य योजना बन्दैगरेको बताउनुभयो । “यस्तो थुप्रै रोचक र ऐतिहासीक खोजमुलक विषय वस्तु छन्, जुन टिकट बनाउन आवश्यक छ” उहाँले भन्नुभयो, “विभागले आफै पनि अनुसन्धान गर्ने तयारीमा छौँ र केही कार्य थालनी पनि गरेका छौँ ।”




S.K. Creative Media Group