माया गिरी, प्युठान । प्युठानको झिमरुक गाउँपालिकामा विभिन्न कार्यक्रम गरि ११५ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ। शनिबार “सबै महिला तथा बालिकाकाे लागि: अधिकार समानता र सशक्तीकरण” भन्ने मुलनाराका साथ झिमरुक गाउँपालिका-६ नेटाको प्राङ्गणमा उक्त दिवस मनाइएको हो ।
कार्यक्रममा बाेल्दै झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले पृतीसतात्मक साेचबाट विकसित पुरुष प्रधान समाजमा नारीहरुलाई हेर्ने साेच र दृष्टिमा परिवर्तन गर्नुपर्ने बताउनुभयो। देशको हरेक परिवर्तनमा महिला र पुरुषहरुकाे भूमिका समान रहेको चर्चा गर्दै उहाँले महिलाहरुकाे याेगदानकाे अझै पनि सम्मान हुन नसकेको बताउनुभयो ।
कार्यक्रमकाे प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष एमसीले संविधानमा उल्लेखित महिलाहरुकाे हक र अधिकार कार्यनयनमा सबै पक्ष लाग्नुपर्ने बताउँदै अधिकार सँगसँगै कर्तव्यकाे पनि पालना गर्नुपर्ने कुरामा जाेड दिनुभयो । उहाँले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न पालिका सचेत रहेको बताउनुभयो ।
पालिकाले यस आर्थिक वर्षदेखि लागुहुने गरि ४५ वर्ष उमेर पुगेका एकल महिलालाई मासिक एक हजार निर्भाह भत्ता उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो । स्थानीय सरकारले महिलालाई रोजगारमा जोड्न सीप सँगसँगै अनुदान समेत उपलब्ध गराउने गरि अगाडि बढेको बताउनुभयो ।
महिलाको हक, अधिकार सुरक्षित गर्न स्थानीय सरकार लागिपरेको बताउनुभयो । उहाँले त्यसको लागि महिलाहरु पनि सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । महिला हिंसा, बाल बिबाह न्यूनीकरण अन्त्यको लागि स्थानीय सरकार महिलाको साथमा रहेकोले अन्याय दवाएर बस्ने होइन, अब आवज बुलन्द गर्नुपर्ने बेला आएको बताउनुभयो ।
त्यस्तै नारी दिवसका अवसरमा वडा अध्यक्ष धन बहादुर पुनले महिलाहरूको विकासका लागि वडा तथा पालिकाले प्राथमिकताका साथ सशक्तीकरण, नेतृत्व विकास र उद्यमशीलतामा काम गरिरहेको बताउनुभयो। अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा भएका यस्ता कार्यक्रमले समाजलाई सकारात्मक सन्देश दिएको वडा अध्यक्ष पुनले बताउनुभयो ।
कार्यक्रममा झिमरुक गाउँपालिका-६ की वडा सदस्य राधिका बिका, महिला स्वयंसेवीका दुर्गा केसी, महिला अधिकारकर्मी सबिना पुरी, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
झिमरुक गाउँपालिका-६ का वडा सदस्य हेमराज भट्टराई, मित्रु गिरी, वडा सचिब राम कुमार चौधरी, वडा पशु प्राबिधिक जयन्ता गिरी, आमा समुहका सदस्य महिला स्वयंसेवीका, संघ संस्थाका प्रतिनिधि, नागरिक लगायतको उल्लेख्य उपस्थित रहेको थियो ।
झिमरुक गाउँपालिकाकाे ६ नम्बर वडा कार्यालयको आयोजनामा भएको उक्त दिवसका अवसरमा महिला अधिकारको बिषयमा चर्चासँगै, सामुहिक लोक नृत्य गरिएको थियो । वडामा रहेका नव ज्योति आम समुह, स्वास्थ्य इन्द्रेणी आमा समुह, सक्रिय आमा समुह, परिवर्तनशिल आमा समुह, पिपलछहारी आमा समुह, सक्रिय समुह र दहखोला आमा समूहले आफ्नो सामुहिक लोक नृत्य प्रस्तुति गर्नुभएको थियो । नारा लेखिएका प्लेकार्ड सहित ल्यालीले गाउँ परिक्रमा गरि सभामा परिणत भएको थियो।
वडा सदस्य खिम कुमारी श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा झिमरुक गाउँकार्यपालिका वडा नम्बर ६ का वडा अध्यक्ष धन बहादुर पुनको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो, भने कार्यक्रमको सहजीकरण वासुदेव गिरीले गर्नुभएको थियो । आज जिल्लाभर नारी दिवसका अवसरमा विविध कार्यक्रमक आयोजना गरि भब्य रुपमा मनाइएको छ ।










S.K. Creative Media Group