सागर रिजाल
प्यूठान । विजय फूलबारी बचत तथा ऋण सहकारी संस्थाले एकीकरपछीको चौथो स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा संस्थाले पत्रकार भेटघाट र रक्तदान कार्यक्रम गरेको छ ।
शनिबार बिहान रक्तसञ्चार केन्द्रमा सहकारीले रक्तदान कार्यक्रम गरेको हो । रक्तदानमा शेयर सदस्य, कर्मचारी सहित ९ जनाले रक्तदान गरेका हुन ।
त्यसैगरी संस्थाले पत्रकार भेटघाट कार्यक्रम गरेको छ । कार्यक्रममा संस्थाका ब्यबस्थापक प्रकाश वैद्यले संस्थाले गरेका गतिविधि प्रस्तुत गर्नुभएको थियो ।
सानो बचत ठूलो काम आफ्नै हातले जोडौ माम’ भन्ने नाराका साथ २०५४ सालमा प्यूठानको खैराका १३ जना युवाहरुको सामुहिक बैठकले मासिक १०० रुपैया का दरले वचत सुरु गर्ने एक बचत समुहबाट फूलबारी वचत तथा ऋण सहकारी संस्थाको जन्म भएको थियो । २०५५ साल साउन २ गते २ हजार ५ सय रुपैंया वचत गरी डिभिजन सहकारी कार्यालय दाङमा सहकारी दर्ता भएको थियो ।
त्यसैगरी महिलाहरुले समुहका माध्यमबाट वचतको सुरुवात गर्न तत्कालिन महिला विकास कार्यालय प्यूठानको सहयोगमा २०५८ सालमा विजयनगरमा विजयलक्ष्मी महिला वचत तथा ऋण सहकारी संस्था गठन भयो । २०६३ साल असार २३ गते डिभिजन सहकारी कार्यालय रुपन्देहीमा दर्ता भएको यस सहकारी २०७३ मा विजयलक्ष्मी कृषि सहकारी संस्थासँग एकीकरण भई विजयलक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्था स्थापना भएको हो ।
दिगो, गुणस्तरीय एवं समुदायको उत्कृष्ट रोजाइको सहकारी बनाउने महान उद्देश्यका साथ फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड खैरा र विजयलक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड विजयनगर एकआपसमा एकीकरण भई अहिलेको विजय फूलबारी वचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेको हो ।
सहकारीमा हाल ५ हजार ९४९ जना सदस्य आवद्ध छन् । जसमा ४ हजार ८२ महिला र १ हजार ८५५ पुरुष र १२ सस्थागत सदस्य रहेका छन् ।

२०८२ चैत्र मसान्तसम्मको वित्तिय विवरण अनुसार ३१ करोड २२ लाख ५ सय ७२ रुपैंया कुल पुँजी रहेको छ । जसमा स्थिर सम्पत्ति ७८ लाख २६ हजार ७४१ रुपैंया ५३ पैसा, वित्तिय लगानीहरु १ करोड ११ लाख २२ हजार ४४१ रुपैया ८३ पैसा, लगानीमा रहेको ऋण १८ करोड ४० लाख ३६ हजार ८२४ रुपैया रहेको छ । बचत निक्षेप २४ करोड ८१ लाख ७७ हजार ६ सय १०,शेयर पुँजी २ करोड ५५ लाख ४६ हजार ९ सय ,जगेडा कोष २ करोड ५ लाख ६७ हजार ८ सय ५६ र ऋण सुरक्षण कोष ७९ लाख ४६ हजार ८ सय ३९ रुपैया रहेको छ ।
संस्थाका अध्यक्ष नेत्रमणी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारी, पुर्व अध्यक्ष गिरु प्रसाद भण्डारी, निवर्तमान अध्यक्ष सन्जय रिजालले शुभकामना मन्तव्य राख्नुभएको थियो । स्वागत उपाध्यक्ष राधा पुलामी र संचालन सचिब मोहन सुबेदीले गर्नुभएको थियो ।
अहिले संस्थाले औपचारिक कार्यक्रम आयोजना गरि दिवस कार्यक्रम गरिरहेको छ ।



S.K. Creative Media Group