मुगु । कर्णाली प्रदेशका उच्च हिमाली जिल्लाहरूमा आज हिमपात भएको छ । मुगु, हुम्ला, जुम्ला र डोल्पा लगायत उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको हो । लामो प्रतीक्षापछि हिमपात र वर्षाले किसानको अन्न बालीनाली सप्रिने भन्दै किसान खुसी भएका छन् ।
मुगुको मुर्माटप, चुचेमारा, घुच्चि, ताल्च, चंखेली, लखु, मुन्दु, लिउडी, बाम घट्टललेक ,तलिलेक,सोरूकोट, चाक्पाँडे र करानका उच्च हिमाली भेगमा हिमपात भैरहेको छ । माघ महिनाको तेस्रो हप्तामा भएपनि हिमपात शुरू भए पछि खेतीपाति गर्ने कृषक लगायत स्थानिय बासीहरूलाई राहत मिलेको स्थानीयको भनाई छ ।
त्यस्तै गरेर सदरमुकाम गमगढीको छायानाथ रारा नगरपालिकाका बस्तीहरु, पिना, ताल्च, तुममा, मुन्दु पनि हिउँ परेको छ । पर्यटकीय स्थल रारामा पनि एक ईन्च जति हिउँ परेर जमेको छ । हिमपातको कारण जनजीवन कष्टकर बन्दै गएको छ । अहिले पर्यटकीय स्थल रारामा एक ईन्च भन्दा बढी हिउँ जमेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत राजु घिमिरे जानकारी दिनुभयो ।
पर्यटकीय स्थल रारामा हिउँ पर्दा रारा पुगेका पर्यटक हिउँ खेल्न र हिउँसँग लुकामारी गर्न चिसोसँगै बिहानैदेखि रमाइरहेका छन । खत्याड गाउँका लमेरा कोटिल्ला, चाकपाडेमा पनि हिमपात भएको छ ।
हिमपातका कारण स्थानीयबासीलाई कठिनाइ भइरहेको छ । माथिल्लो मुगुमा पशुचौपायालाई चरिचरन गर्न पनि कठीनाई भएको छ भने चिसोले स्थानीयलाई एक स्थानबाट अर्को ठाउँ जान कठिनाई भएको स्थानीयले बताएका छन् ।
लामो समय वर्षा र हिमपात नहुँदा वातावरण प्रतिकुल असर पुगेको र त्यसैले गर्दा विभिन्न रोग प्रकोप फैलिएको साथै खोलानाला र पानीका मुहान समेत सुकेको स्थानीयको भनाइ छ । जताततै सुख्खा मौसमले मानिसहरूमा भाईरल रूघाखोकीका बिरामीहरूको संख्या दैनिक जसो बढ्दै गएको थियो । आज परेको हिमपात र हल्का वर्षाले मुगु लगायत साबिक कर्णालीका हुम्ला, जुम्ला, डोल्पा, कालिकोटका र कर्णाली र शुदुर पश्चिमका हिमाली जिल्लाका जनताहरूलाई ठुलो राहत मिलेको छ । यो पटकको हिउँदे महिना पानी परेको थिएन । हिउँद सकिनै लाग्दा आज भन्ने देशभर पानी पर्ने सक्ने देखिएको छ ।