पाल्पा । किशोरीको हत्या गरेको आरोपमा पाल्पा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चैत १३ गते रिब्दीकोट गाउँपालिका-१, ख्याहाकी १९ वर्षीया किशोरी पदमा सुनारको हत्या आरोपमा स्थानीय १९ वर्षीय सागर भन्ने देवलाल सार्कीलाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
गाउँकै लप्सीखोलामा कपडा धुन र नुहाउन एक्लै गएकी पदमासँग खोलामै विवाद भएको र फर्की आउने क्रममा पछाडिबाट हँसियाले प्रहार गरेको देवलालले प्रहरीसमक्ष स्वीकार गरेको डीएसपी सुगन्ध श्रेष्ठले बताउनुभयो । सागरले हत्या गर्दा प्रयोग गरेको धारिलो घरेलु हतियार हंँसिया, हत्याका बखत लगाएको कपडा, चम्पल, खादालगायत सामग्री प्रहरीले बरामद गरेको छ ।
घटनास्थलमा रहेको सबुद प्रमाण र शव जाँच मुचुल्काका आधारमा चैत १४ गते गौतम बुद्ध विमानस्थल सुरक्षा गार्ड केनाइन शाखा भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाई घटनास्थलको जाँच गरिएको थियो । त्यसपछि मृतक पदमाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा शंकास्पद दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान गर्दा सागर भन्ने देवलालले हत्या स्वीकार गरेको डीएसपी श्रेष्ठले बताउनुभयो ।