लमजुङ । लमजुङमा लगातार वर्षाको कारण सडक माथिबाट आएको पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । जिल्लाको बेँसीसहर नगरपालिका वडा नम्बर ६, स्थित खरखरे भिरमा माथिबाट ठूलो ढुङ्गासहितको पहिरो सडकमा खसेपछी बेँसीसहर–चामे सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त सडक खरखरेभिर माथिबाट ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइले जानकारी दिनुभयो। उहाँका अनुसार सोही बाटोमा पर्ने अक्टोसप झरनामा पानीको बहाव बढेपछि यातायात आवागमनमा समस्या भएको छ । पहिरो पन्छाउने तयारी भैरहेको जनाइएको छ ।
प्रत्येक वर्ष वर्षात लागेपछि यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । सडक अवरुद्ध हुँदा आउजाउ गर्ने यात्रुलाई सास्ती हुने गरेको छ । यो क्षेत्र पहिरोको सबैभन्दा बढी जोखिम भएकोले समस्या हुने गरेको स्थानीय बताउछन् । यो क्षेत्रमा जोखिम भएको भन्दै पहिरो नियन्त्रणका निम्ति सङ्घीय सरकारले रु १६ करोड ४८ लाखको लागतमा आयोजना सञ्चालन गरेको भए पनि निर्माण कार्य पूरा नहुँदा समस्या भएको छ ।