चितवन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले दुई वटा बस बगाएको प्रहरीले जनाएको छ। शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा अन्दाजी २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेको बुझिएको छ । एउटा बसको केही भाग मात्र देखिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिनुभयो।
त्यस्तै सोही सडक खण्डको १७ किलोमा यात्रुबसमा एक्कासि सडक माथिबाट झरेको पहिरोसँगै खसेको ढुंगाले लागेर चालकको निधन भएको पनि प्रहरीले जनाएको छ। बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको प्रवक्ता डीएसपी रिजालले जानकारी दिनुभयो। खोजी कार्य भैरहेको छ।
दुर्घटनाको खबर पाए लगत्तै एसपी, डिएसपी, लगायतको कमाण्डमा ७५ जनाको टोली घटनास्थलमा खटिएका छन्। पहिरोले दुवैतर्फ सडक अवरोध भएको छ। घटनास्थलमा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरेर उद्धारको काम भैरहेको भएपनी घटना बारे थप विवरण आउन बाँकी रहेको छ ।
फोटो : Mugling Bazar पेजबाट



S.K. Creative Media Group