प्यूठान । झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापाले विभेद र हिंसा रहित समाज बनाउन हरेकले अभियान आफ्नो घरबाट सुरु गर्नुपर्ने बताउनुभएको छ । सोमबार झिमरुक गाउँपालिका-६, स्थित तोरवाङ्ग नेटामा आयोजित लैंगिक हिंसा विरुद्धको अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत थापाले आम नागरिकले एक अर्कालाई सम्मान र सहकार्य गर्ने सकारात्मक बाताबरण सृजना गरेमात्र हिंसा रहित समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको हो ।
पारिवारीक मेलमिलाप, आपसी सम्मान र सहकार्यले नै गाउँ समाजलाई सबल र सक्षम बनाउन सकिने भएकाले समाजमा हुने विभिन्न हिँसा जन्य घटना नियन्त्रणका लागि जिम्मेवार भएर भूमिका खेल्न उहाँले अनुरोध गर्नुभयो । गाउँगाउँ घरघरमा सचेतनामूलक कार्यक्रमले सामाजिक रुपान्तरणमा जागरण ल्याउदै लैंगिक समानता अगाडि बढ्न मद्दत गर्ने बताउनुभयो । उहाँले गाउँघरमा हुने लैंगिक हिंसा, बालविवाह, जातिय विभेद जस्ता बिषयमा पीडित पक्ष खुलेर आउन नसक्दा पनि समस्या भएकोले ढुक्क भएर बोल्न आग्रह गर्नुभयो। हरेक हिंसा आम नगरिकनको साझा समस्या भएकाले यसको नियन्त्रणका लागि सबैको सहकार्य र साझा मत हुन आबस्यक रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख बिकास केसीले सामाजिक, आर्थिक, साँस्कृतीक विकासको आधार शान्त स्वच्छ र सभ्य परिवार निर्माणमा आफ्ना सन्ततिलाई सहि संस्कार दिनुपर्ने बताउनुभयो । हरेक क्षेत्रमा निर्णय क्षमतामा समान अधिकार कायम गर्दै लैजापर्नेमा उहाँले जोड दिनुभयो । अभियान बस्ती स्तरमा लैजानुपर्छ। उहाँले भन्नुभयो, “त्यसको लागि सबैको सहकार्य हुनुपर्छ।”
लैंगिक समानता कायम गर्न पुराना विचार त्यागी सकारात्मक सोचको विकास गर्नुपर्ने न्यायीक समितिमा कार्यरत नासु यामलाल पोख्रेलले बताउनुभयो । उहाँले सबैको समन्वय र पहलकदमीबाटै समृद्ध पालिका बनाउन सकिने बताउनुभयो।
महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख शर्मिला बिकले गलत सोच र बिचारलाई त्यागेर सकारात्मक बिचार प्रबाह गरेमात्र सबैखाले विभेद अन्त्य गर्न सकिने बताउनुभयो । उहाँले आफ्नो गाउँ समाज परिवर्तन गर्न आम नागरिकहरुको भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
अहिलेपनी हिंसा पीडितले आफ्नो समस्या खुलेर राख्न नसक्नुले पनि समाजमा यस्ता हिंसाका घटनाहरु न्यूनीकरणमा समस्या भएको तोरवाङ्ग स्वास्थ चौकी प्रमुख सुमित्रा थापाले बताउनुभयो । उहाँले यसको लागि सामाजिक चेतनाको अभियान चलाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा लिङ्ग र लैंगिकताको परिचय, महिला हिंसाको कारण, लैंगिक समानता कायम गर्न खेलिने भूमिका, पालिकालाई लैंगिक हिँसा नियन्त्रित बनाउन गरिने आधारभूत र संस्थागत सूचकहरू, इतिहास लगायतका विषयमा जानकारी गराइएको थियो । सहभागीले समाजमा लैंगिक हिंसा र अन्य दुव्र्यवहारका घटनाहरु बढी मदिरा प्रयोगको कारण घट्ने गरेको भन्दै स्थानीय सरकारले कानुन बनाएर मधिरा तथा अन्तलागू पदार्थ नियन्त्रण गर्नु सुझाव दिएका थिए ।
‘हामी सबैको प्रतिबद्धता : लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार अर्थात् नोभेम्बर २५ देखि देशभर सुरु भएको छ । कार्यबाहक वडा अध्यक्ष राधिका बिकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य मित्रु गिरीले गर्नुभएको थियो भने कार्यक्रम बारे प्रस्तुति महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख शर्मिला बिक र वडा सचिब राम कुमार चौधरीले गर्नुभएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, महिला स्वयंसेवीका, आमा समुहका प्रतिनिधि, सहकारीका प्रतिनिधि, बिद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी, महिला अधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो । झिमरुक गाउँपालिकामा महिला हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम आज तोरवाङ्गबाट शुरूवात गरिएको छ । यो अभियान सबै वडामा सकेर पालिकामा सरोकारवालाको उपस्थितिमा समापन गरिने गाउँपालिकाले जनाएको छ ।







S.K. Creative Media Group