प्युठान । झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले माध्यमिक तहसम्मका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकार, बिद्यालय ब्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकहरु बिचको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
शनिबार झिमरुक गाउँपालिका-८, गब्दी स्थित ज्ञानज्योति आधारभुत बिद्यालयको ४५ औं बार्षिक उत्सव तथा अविभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष महतरा क्षेत्रीले सामुदायिक विद्यालयबाट प्राप्त हुने शिक्षा सर्वसुलभ र आम नागरिकको पहुँचमा पुर्याउने गरि गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि स्थानीय सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभएको हो ।
समृद्धिको लागि असल र जिम्मेवार नागरिक उत्पादन गर्न बिद्यालयमा शिक्षक शिक्षिकाको भुमिका महत्त्वपूर्ण हुने भएकोले सबै जिम्मेवार भएर आ-आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो । सामुदायिक बिद्यालय प्रती विद्यार्थी र अभिभावकले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन बिद्यालय प्रशासन र बिद्यालय ब्यवस्थापन समिति बढी जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । समयानुकूल आफुलाई नयाँ प्रबिधिसँग जोडेर विद्यार्थी सिकाईलाई समय सापेक्ष परिस्कृत बनाउदै लैजानुपर्ने अध्यक्ष महतरा क्षेत्रीले आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रममा शिक्षा प्रमुख मोहन बुढाक्षेत्रीले बिद्यालय आर्थिक भौतिक र शैक्षिक सुधारको लागि बिद्यालय प्रशासनले सबैसँग समन्वयकारी भुमिका निर्वाह गर्दै अगाडि पढ्नुपर्ने बताउनुभएको छ । शिक्षकले विद्यार्थीको मनोबिज्ञान रुचि बुझेर पठनसीप बिकास गर्न सुझाव दिनुभयो। विद्यार्थीको रुचि अनुसार पठनपाठनलाई बिद्यार्थी माझ लैजानुपर्ने उहाँले शिक्षकहरुलाई आग्रह गर्नुभयो।
कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष तुलस बहादुर बस्नेत, वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण बहादुर जिसी, लगाएतले बिद्यालय सुधारको लागि सबैको सहयोग र सकारात्मक सुझावले मात्र पूरा गर्न सकिने भएकोले सबैले अपनत्व निलेगरी एकजुट भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।
सोही अवसरमा बिद्यालयमा नवनिर्मित सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले नव निर्मित सरस्वती मन्दिरको उद्घाटन गर्नु भएको हो । कार्यक्रममा मन्दिर निर्माण दाता गोबिन्द बहादुर रोकालाइ सम्मान गरियको छ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मित्र बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री रहनुभएको थियो । वडा नम्बर ८, का वडा अध्यक्ष तुलस बहादुर बस्नेत, वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण बहादुर जिसी, शिक्षा शाखा प्रमुख मोहन बुढाक्षेत्री, प्राबिधिक सहायक पुष्प राना, वडा सदस्य जनप्रतिनिधि, छिमेकी बिद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि लागाएत बिद्यालयका शिक्षक शिक्षिका, विद्यार्थी, स्थानीय बुद्धिजीवी, समाजसेवी, अभिभावकहरुको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा २५ हजार राशिको अक्षयकोष स्थापना समेत गरिएको छ । स्थानीय नारायण बहादुर जिसीको स्मृतिमा छोराहरु झक बहादुर जिसी, शिद्धिमान जिसी र हरी बाबु जिसीले अक्षयकोषको घोषणा गर्नुभएको हो । बार्षिक उत्सवमा विभिन्न बिधामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको प्रधानाध्यापक कमल जिसीले जानकारी दिनुभयो । सो कार्यक्रममा विद्यार्थीबाट बाल नृत्य प्रस्तुत गरीएको थियो। कार्यक्रम बिद्यालयको वार्षिक प्रगति प्रतिबेदन र आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गरिएको थियो ।