
प्यूठान । जिल्लाको नौबहिनी गाउँपालिले बालविवाह न्युनिकरण गर्न बिद्यालयमा सडक नाटक अभियान सुरु गरेको छ । आइतबाट सुरु गरिएको सडक नाटक अभियान पालिकाका ८ वटै वडामा रहेका बिद्यालय वडा कार्यालयमा पुगेर बालबालिकालाई बालविवाह न्युनिकरण सम्बन्धि सन्देशमुलक नाटक प्रदर्शन गर्न लागिएको हो ।
सडक नाटक आज माघ ७ देखि सुरु भएर १० गते सम्म संचालन हुने गाउँपालिकाले जानकारी दिएको छ। सडक नाटकको पहिलो दिन लुप्लुङ्ग माध्यमिक बिद्यालय लुप्लुङ्ग, अम्बिका माध्यमिक बिद्यालय फोप्लि, गङ्गा माध्यमिक बिद्यालय बहाने र जनज्योति माध्यमिक बिद्यालय लुङ्गमा नाटक प्रदर्शन गरिएको गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले जानकारी दिनुभयो । राष्ट्रिय तथा ख्याति प्राप्त कलाकारहरु शुरविर पण्डित(दारी बा) रामचन्द्र अधिकारी (गोक्टे काजी) लगायतको टिमले नाटक नाटकमा प्रस्तुति रहेको अध्यक्ष थापाले बताउनुभयो ।
यस्तै दोस्रो दिन माघ ८ गते नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय, डाम्री, गावै माध्यमिक बिद्यालय गावै र अन्धनासक माध्यमिक बिद्यालय लिघामा प्रदर्शन गरिने छ । त्यस्तै तेस्रो दिन माघ ९ गते शिव माध्यमिक बिद्यालय स्याउलिबाङ, बराह माध्यमिक बिद्यालय झिम्प, दुर्गा माध्यमिक बिद्यालय खवाङ र तेस्रो अर्थात अन्तिम दिन १० गते ७ नम्बर वडा कार्यालय थात्रामा सडक नाटक प्रदर्शन गर्ने समय तालिका बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिबराज पौडेलले जानकारी दिनुभयो।
आर्थिक वर्ष २०८०/०८१ मा पारित नीति तथा कार्यक्रममा नौबहिनी गाउँपालिकाले आगामी ४ वर्षमा बालविवाह हुने संख्यालाई शून्यमा झार्ने लक्ष्य लिएको जनाएको छ। सोही अनुसार १० वटा माध्यमिक विद्यालय र एउटा वडा कार्यालयमा नाटक प्रदर्शन गरिइने बताइएको छ। सडक नाटक मार्फत गाउँ गाउँमा हुने बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा पालिकाले लिएको छ । दुर्गम बस्तीमा चेतना अभावका कारण सानो उमेरमै बिवाह गर्ने बालबालिकाको संख्या अहिले पनि बढिनै रहेकोले यो अभियान गर्न लागिएको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो ।
राष्ट्रिय कलाकारहरुले गाउँ घरमा हुने बालविवाह, लगाएत सामाजिक कुरितीका विरुद्ध जस्ताको तस्तै नाटकको माध्यमबाट आम नागरिक विद्यार्थीहरूलाई सुसूचित गरिएको छ।
नाटक मार्फत बालविवाह के हो, बालविवाह गर्दा कानुनी जटिलता के कस्ता हुन्छन, कानुनी प्रवधान कस्तो छ, बालविवाह गर्नाले बेफाइदाहरु के कस्ता रहेका छन्, बाल विवाह न्युनिकरणमा नागरिक र समुदायको भुमिका के हुने लगायका बिषयबस्तु समेटिएको सडक नाटक प्रस्तुत गरिएको थियो । सडक नाटक प्रदर्शनीले बालविवाह न्युनिकरणमा टेवा पुग्ने प्रमुख प्रशासकिय अधिकृत शिबराज पौडेलले बताउनुभयो । चालु आर्थिक वर्ष कार्यक्रमका लागि बालविवाह उन्मुलनका लागि विद्यार्थी अभिभावक सचेतनात्मक कार्यक्रम शिर्षकमा पालिकाले ७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।