प्यूठान । झिमरुक गाउँपालिका वडा नम्बर २ ले घरमै सेवा दिने तयारी थालेको छ । वडा कार्यालयले ‘वडादेखि घरसम्म’ कार्यक्रम मार्फत विभिन्न सेवाहरुलाई जनताको घरदैलोसम्म पुर्याउन लागिएको वडा अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
जनताले वडा कार्यालयबाट प्राप्त गर्ने सेवा सुबिधालाई जनमैत्री बनाउदै लैजाने उदेश्यले शुभारम्भ गर्न लागिएको ‘वडादेखि घरसम्म’ कार्यक्रमले जनताका थुप्रै समस्यालाई सम्बोधन गर्ने वडा अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।
वडाबाट सेवा लिन दिनभरिको काम छाडेर थुप्रै कानुनी झन्झट नपरोस् भन्ने उदेश्य अनुरुप वडाका जेष्ठ नागरिक, अपांग, अतिअशक्त ब्यक्तिहरु लगाएत आम नागरिकलाई कार्यालय सम्म आउजाउमा समस्या नहोस् भनेर सहजताको लागि यो अभियान सुरु गरिएको वडा अध्यक्ष पोख्रेलले बताउनुभयो । गाउँमा आएको सिंहदरबारको सेवालाई अब जनताकै घरघरमा पुर्याउने लक्ष्यका साथ काम गर्न थालेको बताउनुभयो ।
पछिल्लो समय वैदेशिक रोजगारीको लागि युवा जनशक्ति गाउँमा नहुदा बृद्धअबश्थाका बाआमालाई समस्या भएको भन्दै उहाँहरुको सहजताको लागि यो कार्यक्रम लाभदायक हुने अपेक्षा वडाले लिएको छ ।
वडा अध्यक्ष पोख्रेलका अनुसार वडाले जन्मेको ३५ दिनभित्रमा जन्मदर्ता, मृत्यु भएको ३५ दिन भित्रमा मृत्यु दर्ता, जन्म प्रमाणित, मृत्यु प्रमाणित, अस्थायी÷स्थायी बसोबास प्रमाणित, विपन्न नागरिक सिफारिस, जेष्ठ नागरिक भत्ता कार्ड, अपाङ्गता परिचय पत्र सिफारिस, दीर्घरोगी सिफारिस, रातो र निलो कार्ड भएको अपाङ्गता व्यक्तिको सबै प्रकारको सिफारिस वा प्रमाणित र ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकको सबै प्रकारको सिफारिस वा प्रमाणितको काम लगाएतका सेवाहरु वडा कार्यालयले जनताको घरदैलोमा पुर्याउन लागिएको बताउनुभयो ।
वडाको होम डेलिभरी सेवा लिनका लागि सेवाग्राहीहरुले आवश्यक कागजात वडा कार्यालयको इमेल मार्फत र वडा अध्यक्षको मोबाइल नम्वर मार्फत पठाउन सकिने छ । सेवा लिनका लागि आवश्यक कागजात मोबाइल, इन्टरनेटबाट पठाउन समस्या भएमा आफन्त नजिककोछरछिमेक वा जनप्रतिनिधिहरु मार्फत पनि पठाउन सकिने छ ।
आवश्यक कागजात प्राप्त भएपछि कार्यालयले बनाएको कागजात वडाका कर्मचारी र जनप्रतिनिधि बा आफन्त मार्फत सेवाग्राहीको घरमा पुर्याउने ब्यवस्था मिलाएको छ । आवश्यक कागजात भइसकेपछि २४ घण्टा भित्रै सेवा घरदैलोमै पुग्ने वडा अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।