
प्यूठान । ऐरावती गाउँपालिकामा “नागरिक सुनुवाई कार्यक्रम” सम्पन्न भएको छ । प्रहरी प्रशासन र कानुनसंग सम्बन्धित विषयमा नागरिकलाई जानकारी गराउने उदेश्यले ऐरावति गाउँपालिकाको सभाहलमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले कार्यक्रमले नागरिक र सेवा प्रदायक निकायसँगको सम्बन्ध सुधार हुँदै जानुका साथै नागरिकका गुनासाहरुको सुनुवाई हुने बताउनुभयो । उहाँले सेवा प्रदायक निकायहरुको कमिकमजोरीको बारेमा पृष्ठपोषण मिल्ने र सार्वजनिक निकायहरुले दिने सेवाहरुमा पारदर्शिता, जवाफदेहिता, प्रभावकारीता र गुणस्तरमा सुधार हुने बताउनुभयो ।
सोही कार्यक्रममा जिल्ला न्याधिवक्ता कर्ण बहादुर बुढा क्षेत्रीले सरकारी वकिलको परिचय दिदै, सरकारी वकिलको काम कर्तव्यहरु, मुद्दाका प्रकारहरु, फौजदारी मुद्दामा आकर्षित हुने सिद्धान्तहरु, फौजदारी न्यायका सामान्य सिद्धान्तहरु लगायतका बिषयहरुमा प्रष्ट पार्नुभयो । उहाँले समाजमा घट्ने अपराधिक घटनाहरुको सूचना दिने देखी अनुसन्धानका क्रममा सहयोग गर्नुपर्ने जिम्मेवारी समग्र समाज र प्रत्येक नागरीकहरुको दायित्व रहेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले नागरीक सुनुवाई कार्यक्रमको औचित्यताको बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले जिल्लाको समग्र शान्ति सुरक्षा लगायत प्यूठान जिल्लामा दर्ता भएका मुद्दाहरु र ऐरावती गाउपालिकामा घटेका विभिन्न घटनाका तथ्याङ्कहरुको विश्लेषण गर्दै ऐरावती गाउपालिकामा अपराध न्यूनिकरणका लागि अपनाउनु पर्ने उपायहरुको बारेमा प्रष्ट्याउनु भएको थियो ।
त्यसैगरी प्यूठान जिल्ला र ऐरावती गाउपालिकामा महिला तथा बालबालिका सम्बन्धी घटनाहरुको समेत विश्लेषण गर्दै यस्ता घटनामा प्रहरीको भूमिका सहित ऐरावती गाउपालिकामा प्रहरीको भावी योजनाको बारेमा जानकारी गराउदै प्रस्तुतिकरण गर्नु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानको आयोजनामा भएको उक्त कार्यक्रममा ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहको अध्यक्षता रहेको थियो ।