दीपेन्द्र सुनार
प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाको अमर सिंह माध्यमिक विद्यालय सौतामारे प्युठानले आफ्नो स्थापनाको ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ। बिहिवार बिद्यालयको प्राङ्गणमा भएको वार्षिकोत्सब तथा अभिभावक दिवसमा विविध कार्यक्रमको आयोजना गरि मनाएको हो ।
कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन कुमार शाहीले विद्यार्थीहरुको पहिलो पाठशाला घर भएकोले बालबालिकाको चौतर्फी बिकासमा अभिभावकनै जिम्मेवार हुनुपर्ने बताउनुभएको छ। पछिल्लो समय प्रबिधिको तिब्र बिकास संगै शिक्षकले आफुलाई समयानुकूल परिस्कृत गर्दै गुणस्तरीय शिक्षामा जोड दिन आवश्यक रहेको बताउनुभयो। शिक्षामा गुणस्तर सुधार पहिले सर्त हुनुपर्छ। शाहिले भन्नुभयो, “त्यसको लागि विद्यार्थीको रुचि अनुसार पठनपाठनको पद्धति समेत बदल्न जरुरी छ।”

झिमरुक गाउँपालिकाका शिक्षा शाखा प्रमुख मोहन बुढा क्षेत्रीले सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाउन सबै जिम्मेवार हुनु पर्ने बताउनुभयो। शिक्षामा गुणस्तर सुधारका लागि शिक्षक र विद्यार्थी मात्र नभई सबैको साथ सहयोग र समन्वयले मात्र सम्भव हुने भन्दै सबैको सहकार्यबाट अगाडि बढ्नुपर्ने बताउनुभयो ।
बिद्यालयले माघ १५ गतेदेखि १८ गतेसम्म अतिरिक्त क्रियाकलाप संचालन गरेको थियो । खेलकुद तथा गाउँपालिकाले संचालन गरेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा विद्यालयबाट सहभागी भएर खेलकुदमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान स्वरुप पुरस्कार प्रदान गरिएको छ। विद्यालयका पुर्व प्रधानध्यापक राम बहादुर जिसी सहित विद्यालय व्यावस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष ध्रुवराज खनाललाई बिद्यालयले सम्मान गरेको हो।

साथै कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक दान बहादुर जिसीले बिद्यालय प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। विद्यालयमा स्थापना गरिएको अक्षयकोष रकमबाट उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ। कार्यक्रममा बिद्यार्थीहरुले गित नृत्य प्रस्तुत गरेर रमाइलो गरेका थिए।
विद्यालय ब्याबस्थापन समितिका अध्यक्ष तथा झिमरुक गाउँपालिका-१ का वडा अध्यक्ष ध्रुवराज खनालको अध्यक्षता, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन शाहीको प्रमुख आतिथ्यता, शिक्षा शाखा प्रमुख मोहन बुढा क्षेत्रीको विषेश आतिथ्यतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा प्रास पुष्प राना, शिक्षक, विद्यार्थी, अभिभावक, राजनीति दलका प्रतिनिधिह, छिमेकी विद्यालयहरुका शिक्षक प्रतिनिधि, चन्दादाताहरु लगायतको उपस्थित रहेको थियो। कार्यक्रममा विद्यालयका शिक्षक हरि रायमाझीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक सुर्य जिएमले गर्नुभएको थियो।



S.K. Creative Media Group