प्युठान । नेपाल रेडक्रस सोसाइटी भुमेश्वरी उपशाखाले एघारौं साधारणसभा सम्पन्न गरेको छ। शनिबार प्युठान नगरपालिका वडा नम्बर १० खरिबोट स्थित सभाहलमा विविध कार्यक्रमको आयोजना गरि साधारणसभा सम्पन्न गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानका उप-कोषाध्यक्ष धुर्ब बहादुर जिसीले मानव सेवामा क्रियाशिल यस संस्थाको गरिमा महत्त्वपूर्ण रहेकोले सोही अनुसार काम गर्नुपर्ने बताउनुभएको छ। मैनबत्ती आफू जलेर अरुलाई उज्यालो दिए जस्तै दुखमा परेका मानव सेवामा हामी रेडक्रसकर्मीहरु मन वचन र कर्मसिल भएर लाग्नुपर्ने बताउनुभयो । मन्दिर पुगेर दान पुन्य गर्नुभन्दा बिपत्तिमा परेका गरिब दुखी बेसहारा मानव जातिको उद्धार र सहयोगमा सानो काम गरे पुन्य हुने भएकोले यसतर्फ जोडिन सबैलाई आग्रह गर्नुभयो ।
त्यस्तै प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिकास केसीले मानव सेवाको लागि सानो कामबाट पनि ठुलो सहयोग पुग्ने भएकोले सबैले सहयोगको भावन जागरुक गर्नुपर्ने आवस्यकता रहेको बताउनुभयो । भौतिक पुर्वाधार मात्र बिकास होइन सामाजिक जागरणको खाचो रहेको बताउनुभयो । सबैले त्याग गर्न सकेमात्र सामाजिक जागरण गर्दै सामाजिक काममा प्रेरित गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष लोक बहादुर केसी प्युठान क्याम्पस प्रमुख कल्पना खड्का लगाएतले पछिल्लो समय गाउँ समाजमा हुने आत्महत्या, बालविवाह, महिला हिंसा, जातिय छुवाछूतका बिषय अझै ब्याप्त रहेकोले न्यूनीकरणको लागि सबैको सहकार्यबाट जागरणको अभियान गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उपशाखा सचीव र कोषाध्यक्षबाट क्रमश प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । उक्त प्रतिबेदन सभाले छलफल पछि अनुमोदन समेत गरेको छ।
प्रगति प्रतिबेदनमा प्रस्तुत प्रस्तावित कार्यक्रम निशुल्क स्वास्थ्य शिबिर गर्ने, आत्महत्या न्यूनीकरण तथा महिला हिंसा सम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन गर्ने, रक्तदान कार्यक्रम गर्ने, बिद्यालय स्तरमा हाजिर जवाफ तथा अन्य क्रियाकलाप गर्ने, आजिवन सदस्य वृद्धि गर्ने लगाएतका वार्षिक कार्यक्रम अनुमोदन गरेको छ । रिक्त उपसभापति पदमा आजिवन सदस्य कल्पना खड्कालाई निर्णय गरेको छ।
रेडक्रस उपशाखा सभापति शिबा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानका उप-कोषाध्यक्ष धुर्ब बहादुर जिसीको रहेको थियो । कार्यक्रममा प्युठान नगरपालिका वडा नम्बर ९ र १० का वडा अध्यक्ष बिकास केसी, लोक बहादुर केसी, प्युठान क्याम्पस प्रमुख कल्पना खड्का, निवर्तमान वडा अध्यक्ष पदम गिरी, बाल बिद्या माबि मजुवाका प्रधानाध्यापक केशु गिरी, मरन्ठाना प्रहारी चौकी प्रमुख राम बहादुर आले, समाजसेबी भरत बहादुर केसी, बुद्धिजीवी टिकाराम पौडेल बिजय जिसी जनप्रतिनिधि लगाएतको आजिवन सदस्यहरुको सहभागीता रहेको थियो । उपशाखाको कार्यसमिति सदस्य रेशमा गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिब बासुदेब गिरीले गर्नुभएको थियो ।