प्यूठान । मल्लरानी गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गाउँपालिकाको ५ नम्वर वडा कार्यालय खैरामा पालिकाले सोमबार सार्वजनिक सुनुवाई गरेको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले उठेका प्रश्न, जिज्ञासाको जवाफ दिँदै पालिकाले आफ्ना गतिविधिहरुलाई निरन्तर रुपमा अघि बढाएको बताउनुभयो । उहाँले पालिकाभित्रका विकास निर्माणका कामलाई तीव्रता दिन प्रदेश सरकार, संघीय सरकार अन्तर्गतका कार्यालयहरुसँग समन्वय गरेर काम गर्ने गरेको बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिँदै पालिकाले घुम्ती रुपमा विभिन्न वडामा सार्वजनिक सुनुवाईको काम गर्दै आएको बताउनुभयो । उहाँले पालिकाको अनुगमन संयन्त्रले नियमित रुपमा अनुगमन गरि योजनालाई प्रभावकारी बनाउन लागिपरेको बताउनुभयो ।
जिल्ला समन्वय समिति प्यूठानका सदस्य गुणेन्द्र बस्नेतले मन्तव्य राख्दै सेवाग्राही र सेवाप्रदायक निकायबीच सुमधुर सम्बन्ध बनाउन सार्वजनिक सुनुवाई कार्यक्रमले भूमिका खेल्ने बताउनुभयो । उहाँले विभिन्न वडामा पुगेर सार्वजनिक सुनुवाई गर्ने कार्यको प्रशंसा समेत गर्नुभयो ।
छलफलमा खानेपानी समस्या, शिक्षा, स्वास्थ्य, कृषि, विपद, खेलकुद, सिपमुलक तालिम, यातायात समस्या, सुकुम्बासी समस्या, बिद्धुत लगायत विषयसँग जोडिएका प्रश्नहरु उठेका थिए । प्रश्नको जवाफ मल्लरानी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गोपाल बहादुर थापा, वडा नम्बर ४ का अध्यक्ष कुमार श्रेष्ठले पनि दिनुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कमासिंह केसीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नागरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमत पत्रको नतिजा मल्लरानी मिडिया प्रा.लि.का सञ्चालक सुजल श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार विजयसिंह भारतीले गर्नुभएको थियो । कार्यक्रम रेडियो माण्डवीबाट प्रत्यक्षण प्रशारण गरिएको थियो ।