प्यूठान । झिमरुक गाउँपालिकाले स्वास्थ्य नीति २०८०, एम्बुलेन्स संचालन कार्यविधि २०८० र उत्पादनमा आधारित अनुदान र बजारीकरण कार्यक्रम संचालन कार्यविधि पारित गरेको छ। सोमबार बसेको एघारौं कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै बैठकले आर्थिक वर्ष ०८१/०८२ को लागि संघीय समपुरक तथा बिषेश अनुदान तर्फका योजना छनोट समेत गरेको छ । संघीय समपुरक अनुदान तर्फ झिमरुक रिङ्गरोड स्तरोन्नति, ढाड बादिकोट देउराली पुर्कोट दह मोटरबाटो स्तरोन्नति, ढाड गब्दी टिमुरचौर दिहाल्ना ढोरपाटन प्यूठान बागलुङ सडक स्तरोन्नति (टिमुरचौर खण्ड) ढाड तुषारा कुता मोटरबाटो स्तरोन्नति र बहुउद्देश्यीय सभाहल निर्माण गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो ।

अध्यक्ष एमसीका अनुसार विशेष अनुदान तर्फ तुषारा स्वास्थ्य चौकीको भवन निर्माण योजना र झिमरुक गाउँपालिकाका सबै वडामा गाउँघर क्लिनिक भवन निर्माण योजनालाई छनोट गरि बजेट सुनिश्चितताको लागि संघीय सरकार सँग माग गर्ने निर्णय भएको बताउनुभयो ।

कार्यपालिका बैठकले स्थानीय सरकार संस्थागत क्षमता स्वमुल्यांकनको नतिजा स्वीकृत तथा प्रकाशन समेत गर्ने निर्णय गरेको छ। त्यसै निवेदन अनुसार “घ” वर्गको इजाजतपत्रको अनुमति स्वीकृत दिने, कृषी हाटबजार संकलन केन्द्र संचालन तथा ब्यवस्थापन गर्ने निर्णय भएको अध्यक्ष महतरा क्षेत्रीले जानकारी दिनुभयो ।

त्यसैगरी चिसावाङ्ग झोलुङ्गे पुल, नरेन्द्र गायत्री आँखा अस्पताल, जेष्ठ नागरिक मिलन केन्द्र, नागरिक आरोग्य केन्द्र र बाल ज्योति प्राबीको सौचालय निर्माणको लागि बजेटको सुनिश्चित गर्ने गरि निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

आर्थिक सहायता कार्यक्रमलाई थप ब्यवस्थित बनाउने, स्वीकृत भइ रातो किताबमा भएका बाहेकका योजना तथा कार्यक्रमलाई बजेट ब्यवस्था गर्ने, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई बजेट सुनिश्चितता सहित कार्यान्वयन गर्ने लगाएत निर्णय भएको गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिनुभयो। कार्यालयको कामलाई थप ब्यवस्थित छिटोछरितो बनाउन र आयोजना अनुगमन निरीक्षण तथा कार्यालयको समग्र कामको लागि गाडी भाडामा लिएर काम चलाउने निर्णय भएको छ ।

गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाही वडा अध्यक्षहरु कार्यपालिका सदस्य, शाखा प्रमुख लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय