प्युठान । प्युठानको झिमरुक गाउँपालिकामा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाका लागि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । दादुरा–रुबेला खोप अभियानअन्तर्गत झिमरुक गाउँपालिका भरमा २ हजार ५ सय ६८ जना बालबालिकालाई खोप लगाइने पालिकाका स्वास्थ्य शाखा प्रमुख बिकास केसीले जानकारी दिनुभयो ।

बुधबार झिमरुक गाउँपालिकाको सभाहलमा दादुरा-रुबेला खोप अभियानबारे सरोकारवाला सँगको छलफलमा स्वास्थ्य शाखा प्रमुख बिकास केसीले पालिकाभरका ३० वटा खोप केन्द्रबाट करिब २ हजार ५ सय ६८ जना बालबालिकालाई खोप लगाउने लक्ष रहेको जानकारी दिनुभएको छ ।

यही फागुन १३ गते देखी १७ गते सम्म ९ महिना देखी ५ मुनिका सबै बालबालिकाहरूलाई आफ्नो पायक पर्ने तोकिएको स्थानीय खोप केन्द्रमा लगी दादुरा-रूवेला विरूद्वको खोप लगाउन शाखा प्रमुख केसीले आग्रह गर्नुभयो। खोप अभियान तोकिएको केन्द्र तथा स्थानीय स्वास्थ्य संस्थामा सञ्चालन गरिने उहाँले बताउनुभयो । खोप पूर्णरुपमा सुरक्षित र प्रभावकारी रहेकाले आफ्ना सम्पूर्ण बालबालिकालाई सम्बन्धित खोप केन्द्रमा लगेर खोप लगाइदिन आग्रह गर्नुभएको छ। यो रोग सबै उमेर समूहलाई लाग्न सक्ने भए पनि बालबालिकालाई बढी असर गर्ने भएकोले अनिवार्य खोप केन्द्रमा पुगेर आफ्ना नानिबाबुलाई खोप लगाउन सबैलाई अनुरोध गर्नुभएको छ।

दादुरा-रुबेला खोप लगाएर दादुरा र रुबेला रोग विरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी यस्ता रोगको संक्रमण हुनसक्ने सम्भावनालाई न्यूनीकरण गर्ने उद्देश्य पालिकाले खोप अभियान सफल बनाउन सबै स्वास्थ्यकर्मी लगाएत स्थानीयलाई आग्रह गरिएको गाउँपालिका अध्यक्ष पित बहादुर महतर क्षेत्रीले जानकारी दिनुभयो । उहाँले सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरूलाई आफ्नो क्षेत्रमा खटेर अभियान सफल बनाउन जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । त्यस्तै हरेक नागरिक तथा अभिभावकले आफ्ना बालबालिकाहरूलाई पायक पर्ने खोप केन्द्रमा लगेर खोप लगाउन आग्रह गर्नुभयो ।

त्यस्तै उपाध्यक्ष प्रमोद पोख्रेलले मान्छेको जिवनमा सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति स्वस्थ र निरोगी शरीर भएकोले निरोगी रहन यस्ता अभियान महत्वपूर्ण हुने बताउनुभयो । यो राष्ट्रिय अभियान भएकोले सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । पालिकाले स्वास्थ्यको क्षेत्रमा लगानीको दायरा फराकिलो गराउदै आम नागरिकको स्वास्थ्य प्रती गम्भीर रहेको बताउनुभयो।

सरकारले सन् २०२६ सम्ममा दादुरा-रुबेलालाई निवारण गर्ने लक्ष्य पूरा गर्न खोप अभियान सञ्चालन गरिएको हो । अभियानमा सबै केन्द्रमा तालिम प्राप्त भ्याक्सिनेटर र स्वास्थ्यकर्मी स्वयंसेवक कर्मचारी खटिने छन् । प्यूठानमा रहेका २ सय ७३ खोप केन्द्रबाट करिब २२ हजार ८ सय २४ जना बालबालिकालाई दादुरा–रुवेला खोप लगाइने तयारी रहेको जनाइएको छ। त्यसको लागि जिल्लामा करिब २५ हजार ५ सय डोज दादुरा-रुवेलाको खोप प्राप्त भएको छ।

गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीजो अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाही, वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक शिक्षिका, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय