
झिमरुक । झिमरूक गाउँपालिकाको आयोजनामा कृषकलाई १ दिने पशु बीमा सम्बन्धी अभिमुखिकरण गरिएको छ । झिमरूक गाउँपालिका अन्तर्गत रहेका कृषि समूह, कृषि फर्म, पशुपन्छी समूह / फर्म र कृषि सहकारी सहित अन्य सरोकारवाला व्यक्ति गरि करिब २ सय जनाको सहभागितामा कार्यक्रम गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पवन कुमार शाही, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई प्रमुख चुमानसिंह गिरी, सम्पूर्ण वडाका वडा अध्यक्षहरू , कार्यपालिकाका सदस्य र कर्मचारीको उपस्थिति थियो ।
कार्यक्रमा अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले कृषि पेसालाई निर्वाहमुखीभन्दा व्यवसायमुखी बनाउन जोड दिनुभएको थियोे । कृषि बीमाको बारेमा प्रष्ट पार्दै अध्यक्ष क्षेत्रीले कृषकहरूको साथमा सदैब स्थानीय सरकार रहेको र स्थान, हावापानी र माटो अनुकूल खेती गर्न, कृषि पेसालाई आधुनिकीकरण गर्न सबैलाई आग्रह गर्नुभएको थियोे ।
कृषिलाई व्यवसायिक रूपमा अंगाली कृषि बिमा गर्न सकेमा कृषकको जीवनस्तरमा उकास्न र जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाहीले बताउनु भएको थियो ।
कृषि बिमाको विषयमा थप प्रष्ट पार्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण समन्वय इकाई प्रमुख चुमानसिंह गिरी, कृषि अधिकृत श्री टेक बहादुर बि.क. र पशु स्वास्थ प्राबिधिक कृष्ण बहादुर बस्नेतले कार्यक्रममा सहजीकरण गर्नुभएको थियोे ।
कृषि अधिकृत टेक बहादुर वि.क.को स्वागत मन्तव्यसँगै सुरू भएको कार्यक्रमको संचालन कृष्णबहादुर बस्नेतले गर्नु भएको थियोे ।