प्यार अली खान
प्युठान । जिल्लाको प्यूठान नगरपालिका-६, स्थित भगेरी सामुदायिक बनमा सल्केको आगो गाउँ पसेपछि ४ घर संगै १ दर्जन बढी गोठ जलेर नष्ट भएको छ। जङ्गलमा लागेको आगो नियन्त्रणमा नभएपछि स्थानीय त्रसित भएका छन्।

सोमबार रातीबाट भगेरी सामुदायिक जङ्गलमा सल्केको आगो अहिलेसम्म नियन्त्रण हुन नसक्दा आगो गाउँ पस्न थालेपछि जङ्गल आसपासका स्थानीयबासी त्रसित भएका हुन।

प्युठान टिकुरीको भगेरी सामुदायिक वनबाट सुरु भएको आगोलागी लामखोला सामुदायिक वन हुँदै गुरुङ गाउँ सामुदायिक वनमा फैलिदै गाउँसम्म आइपुगेको प्युठान नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेन्द्र पुन मगरले जानकारी दिनुभयो। स्थानीय जनता, नेपाल प्रहरी र नेपाल आर्मीले आगो नियन्त्रण गर्ने प्रयास गरेपनी अहिलेसम्म आगो नियन्त्रणमा आउन नसकेको वडा अध्यक्ष पुन मगरले बताउनुभयो ।

जङ्गलना लागेको आगो गाउँ पस्दा गुरुङ गाउँका ४ घर संगै दर्जन बढी गोठ जलेर नष्ट भएको वडा अध्यक्ष पुनमगरले जानकारी दिनुभयो । आगलागीबाट स्थानीय रबिन्द्र गुरुङ, पवित्रादेवी गुरुङ, लिला बहादुर गुरुङ, चन्द्र बहादुर गुरुङको घर गोठ जलेर नष्ट भएको छ।

त्यस्तै तोता गुरुङको गोठ, ट्वाइलेट, मनिदेवि गुरुङको गोठ, हिरा बहादुर गुरुङको गोठ ट्वाइलेट, कृष्ण बहादुर गुरुङको गोठ, डल्ली गुरुङको गोठ, गगनसिङ गुरुङको सर्कुलर मेशिन पूर्णरुपमा जलेर नष्ट भएको उहाँले बताउनुभयो।

आगोलागीले बस्तीनै घेर्न थालेपछि स्थानीय त्रसित भएका छन् । ‘हामी मुखदर्शक भएका छौं’,वडा अध्यक्ष पुन मगरले भन्नुभयो, ‘गाँउमा रहेका सिंचाई पोखरीमा जम्मा भएको पानीले केही घरगोठ बचाउन सफल भएका छौं, आगोलाई नियन्त्रण गर्न मुस्किल भईसक्यो, कोही जाने अवस्थानै छैन ।’ गाउँमा रहेको जगदम्बा प्राबि आगोलागीको उच्च जोखिममा रहेको उहाँले जानकारी दिनुभयो ।

आगोलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशत्र प्रहरी तथा नेपाली सेना आगलागी स्थल पुगेको छ। आगो अहिले धर्मावतीको जंगल तर्फ मोडिएको छ। टिकुरी तथा बाग्दुला बजार माथिको जंगलमा आगो लागिरहेको छ। आगलागीका कारण गुरुङ गाउँ, बाग्दुला बजार तथा टिकुरीका स्थानीयहरु त्रसीत बनेका छन्। आगो नियन्त्रण गर्ने पर्यास भएपनी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । स्थानीय जनता आगोको त्रासमा रातभर जगराम बसेका छन् ।

त्यस्तै प्युठान नगरपालिका वडा नम्बर ९ स्थित मजुवा नजिक निर्माणाधीन प्रहरी चौकी भवन नजिकैको बाँसको घारीमा सल्केको आगो नियन्त्रणमा आएको छ । बुधबार राती करिब ३ बजे एक्कासि बाँसको घारीमा आगलागी भएको र ठूलो आवाज गरेर पड्के पछि स्थानीयले थाहा पाएपछि प्रहरीलाई खवर गरेलगत्तै स्थानिय र प्रहरी जुटेर आगो नियन्त्रणमा जुटेका थिए ।

आगलागी भएको ठाउँमा प्रहरी र स्थानीयले आगो नियन्त्रण गर्ने पर्यास गरेपनी आगो नियन्त्रणमा समस्या भएपछि दमकल बोलाएर आगो नियन्त्रण गरिएको प्युठान नगरपालिका-९ का वडा अध्यक्ष बिकास केसीले जानकारी दिनुभयो । आगलागी समयमै नियन्त्रणमा ल्याइएकोले अन्य कुनै भौतिक तथा मानवीय क्षेत्री भएको छैन उहाँले भन्नुभयो ।

स्थानिय र प्रहरीले आगो नियन्त्रणमा गर्न समस्या भएकोले प्युठान नगरपालिकाको आगो नियन्त्रणको लागि दमकलको सहायता लिनपरेको वडा अध्यक्ष केसीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले आगो पुर्णतया नियन्त्रणमा आएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय