
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य वृद्धि भएर आएपछि नेपाल आयल निगमले नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।
गएराति १२ बजेदेखि लागु हुने गरी निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको जानकारी दिएको छ । इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएपछि निगमले पनि मूल्य बढाएको हो।
त्यस्तै पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १ सय ६८ पुगेको छ भने सुर्खेत र दाङ वरपर १ सय ७० र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १ सय ७१ रुपैयाँ पुगेको छ।
निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १ सय ५७ रुपैयाँ तथा सुर्खेत र दाङ वरपर १ सय ५९ र काठमाडौं, पोखरा र दिपायल आसपास प्रतिलिटर १ सय ६० रुयैयाँ पुगेका छ। निगमले एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ।