प्यार अलि खान
प्यूठान । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) प्यूठानले संगठन परिचालन र निर्वाचन तयारीलाई तीव्र बनाएको छ। सोही सन्दर्भमा एमाले प्यूठानको जनवर्गीय जनसंगठन संयन्त्रको बैठक सम्पन्न भएको हो।
बैठकले यहि माघ ६ गते हुने उम्मेदवारी मनोनयन दर्ताका क्रममा पार्टीको सिंगो पंक्ति र सबै क्रियाशील जनवर्गीय जनसंगठनको सक्रिय सहभागिता सुनिश्चित गर्ने निर्णय गरेको एमाले प्यूठानका अध्यक्ष विजयविरज बिष्टले जानकारी दिनुभयो। उम्मेदवारी मनोनयनलाई शक्तिप्रदर्शन र संगठनात्मक एकताको रूपमा प्रस्तुत गर्ने रणनीतिमा बैठकले जोड दिएको छ।
यसअघि नै एमाले प्यूठानले प्रतिनिधि सभा निर्वाचनका लागि सूर्य थापाको एकल नाम प्रस्ताव गरिसकेको सन्दर्भमा बैठकले निर्वाचन केन्द्रित गतिविधिलाई अझ सशक्त बनाउँदै सबै संगठनलाई परिचालन गर्ने निर्णय गरेको एमाले प्यूठानका सचिव इन्द्रमणि पोख्रेलले जानकारी दिनुभयो।
त्यस्तै, बैठकबाट माघ ७ गते सबै जनवर्गीय जनसंगठनको संयुक्त जिल्ला भेला आयोजना गर्ने निर्णय गरिएको छ। उक्त भेलामार्फत निर्वाचन अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाइने जनाइएको छ।
शनिबार बिजुवारस्थित उमेश स्मृति प्रतिष्ठानमा बसेको बैठकको अध्यक्षता जिल्ला कमिटी अध्यक्ष विजय विराज बिष्टको रहेको थियो भने बैठकको सहजीकरण जनसंगठन संयन्त्र सचिव नेगनसिँह कवरले गर्नुभयो।
बैठकले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन, जनवर्गीय जनसंगठन र कार्यकर्ताबीचको समन्वयलाई थप मजबुत बनाउने निष्कर्ष निकालेको छ। बैठकमा पार्टीका नेता कार्यकर्ता तथा जनवर्गीय जनसंगठन पदाधिकारी लगायतको उपस्तिथि रहेको थियो ।



S.K. Creative Media Group