डा.अमर गिरी
कैयौं पाठकहरु कविता यात्राका बारेमा सोध्छन् । यस विषयमा बोल्न र लेख्न मलाई सधैं अप्ठ्यारो लाग्छ । अप्ठ्यारो विषय पनि हो यो । कविता यात्राका बारेमा बोल्न र लेख्न त्यति सजिलो पनि त छैन । तैपनि कविता यात्राका बारेमा गम्दा आफैलाई लामो बाटो हिडिसकिएछ भन्ने लाग्छ र त्यससँग सम्बन्धित अनेकन स्मृतिहरू अगाडि आउँछन् । स्मृतिहरूले जीवनको उत्तराद्र्धमा कविता सिर्जनाका निम्ति अझ बढी प्रेरित गर्छन् र आनन्दको अनुभूति हुन्छ । २०३० सालमा मैले पहिलोपटक कविता लेखेर विद्यालयको भित्तेपाटीमा टाँसेको थिएँ । कविताको शीर्षक ‘हो ची मिन्ह जस्तो हुनुपरेको छ’ थियो । त्यसबेला म सात कक्षामा पढ्थेँ । पत्रिकामा कविता भने अलिपछि मात्र छापिएको थियो । दङाली प्रगतिशील विद्यार्थीहरूले वनारसबाट ‘सन्देश’ पत्रिका प्रकाशन गर्थे । पहिलो पटक त्यसमा मेरो कविता छापिएको थियो । ‘आमा’ शीर्षकको कविता थियो त्यो । त्यसबेला म आठ कक्षामा पढ्थेँ । पत्रिकामा कविता प्रकाशित भएपछि कविता सिर्जनाका निम्ति म अझ बढी सक्रिय भएँ । त्यसले मलाई अपार प्रेरणा प्रदान ग¥यो । कविता लेखेर भित्तेपाटीमा टाँसेको समेतलाई गणना गर्ने हो भने कविता सिर्जनामा मैले झण्डै पाँच दशक बिताएको छु । कविता भित्तेपाटीमा टाँस्ने बेलामा म तेह्र वर्षको थिएँ ।
म सामान्य परिवारमा जन्मिएँ । आर्थिकरूपले मेरो परिवार निम्नमध्यम वर्गीय थियो । बुवा इन्डियन आर्मीको सिपाही हुनुहुन्थ्यो । एउटा सिपाहीले कति नै कमाउन सक्छ र । निम्नमध्यम वर्गीय परिवारभित्र जस्तो जिन्दगी बाँच्न सम्भव थियो, हामीले त्यस्तै जिन्दगी बाँच्यौँ । आमा टि.बी.को रोगी हुनुहुन्थ्यो । रोगले उहाँभित्रको भावुकता र संवेदनशीलतालाई बढाएको थियो । सरल, उदार, सहयोगी र स्नेहालु हुनुहुन्थ्यो आमा । बुवा स्वाभिमानी, निर्भीक र उदार हुनुहुन्थ्यो । मैले उहाँहरूबाट पाउनुपर्ने जति माया पाएँ । म तेस्रो सन्तान थिएँ । ममाथिका दुई दाजुहरूको निधनले दुःखी र भयभीत मेरा आमाबुवा मलाई लिएर अलि बढी सचेत हुनुहुन्थ्यो । मप्रति बढी स्नेहको कारण यो पनि एउटा थियो । बुवासँग कुरा कम हुन्थ्यो, आमाका निम्ति म कुरौटे थिएँ । आमाले सुत्नेबेला प्रायः दन्त्यकथा (लोककथा) सुनाउनु हुन्थ्यो । कथाहरू मलाई असाध्यै मन पर्थे । कैयौँ बेला म कथा सुन्दा सुन्दै निदाउँथेँ र सपनामा कथाको पात्र जस्तै बन्थेँ । आमाले कथा सुनाउन अल्छी गरेका बेला वा बिरामी भएर कथा सुनाउन नसकेका दिन नरमाइलो लाग्थ्यो । बुवाले भने कहिल्यै कथा सुनाउनु भएन । उहाँलाई कथा नै आउँदैनथ्यो कि त्यसप्रति उहाँको रूचि नै थिएन,भन्न सक्तिनँ । उहाँलाई कथा भन्नका निम्ति आग्रह गर्न पनि कहिल्यै सकिनँ । उहाँ मायालु नै हुनुहुन्थ्यो तर उहाँ र मेरा बीचमा एक किसिमको दूरी सधैँ रह्यो । यो दूरी आमा र मेरा बीचमा थिएन । म आमासँग नडराई कुरा गर्थेँ र प्रश्नहरू सोध्थेँ । आमाले सुनाउने लोककथाले मलाई गहिरो गरी प्रभावित गर्थे ।
लोककथा जस्तै गीत पनि मलाई सानैदेखि मनपथ्र्याे । गीत र नृत्यले मलाई लोभ्याउँथे । मैले पनि यसैगरी गाउन कहिले सकुँला भन्ने लाग्थ्यो । बाल्यकालमा सुनेका कैयौँ गीत आज पनि मेरो स्मृतिमा सुरक्षित छन् । लोकभाकाप्रतिको त्यसबेलादेखिको प्रेम अहिले पनि जीवित छ । एघार, बाह्र वर्षको उमेरदेखि मैले घाँसदाउरा गर्न शुरू गरेको हुँ । वनमा घाँसदाउरा जाँदा सुनसान वनमा गाइने गीतले म अझ बढी अभिभूत हुन्थेँ । म जन्मिएको, हुर्किएको ठाउँ पहाडको नजिक छ । पहाड र गाउँको बीचबाट बबई नदी बग्छ । हाम्रोतिर यसलाई नदी नभनेर खोला भनिन्छ । दाङको पुछारतिर पुग्दा यो ठूलो हुन्छ र यसले नदीको आकार ग्रहण गर्छ । त्यतातिरका मानिसले यसलाई नदी भन्छन् । प्राकृतिक दृष्टिले सुन्दर छ म जन्मिएको ठाउँ । म सानो छँदा घर नजिकै ठूलो जङ्गल थियो । त्यसको शेष अहिले पनि छ । धेरै थरीका पन्छीहरूको वासस्थान थियो जङ्गल । खरायो, स्याल, भालु जस्ता जनावर पनि त्यहाँ पाइन्थे । पन्छीहरूको कलरव निकै मनपथ्र्यो । पन्छीहरू अत्यन्त प्रिय लाग्थे । आज पन्छी प्रेम अझ बढेको छ । चराहरूका गीतले मेरो हृदयलाई गहिरो गरी स्पर्श गर्छन् ।
बाल्यकालमा मैले आर्थिक कठिनाइको सामना गर्नुप¥यो । कठिनाइले दिने पीडाभन्दा अपमानले दिने पीडा अझ गहिरो हुन्छ । आर्थिक स्थितिका कारण हामीले अपमान पनि खप्यौँ । असमानताले भरिएको समाजमा हुनेहरूले नहुनेहरूलाई हेप्छन् । हेपाइको पीडा भोकै बस्दाको पीडाभन्दा पनि गहिरो हुन्छ । खाएपछि भोक मेटिन्छ तर अपमानको पीडा पछिसम्म पनि जीवित रहन्छ । अहिले पनि अतीतका घाउहरू बेलाबखत बल्झन्छन् र मन निकै दुख्छ । यस्तो अपमान र पीडाले मलाई सानैदेखि विद्रोही बनायो । गाउँमा गरिबीमा बाँच्नेहरू धेरै थिए । कतिको जीवन त निकै कष्टपूर्ण थियो । उनीहरूको जीवन देख्दा आफ्ना समस्या र कठिनाइ निकै कम लाग्थे । म उनीहरूका सुखदुःखसँग जोडिएँ । उनीहरूलाई नजिकबाट हेर्न र बुझ्न थालेँ । यसले अरूका सुखदुःखप्रति गम्भीर र संवेदनशील हुन सिकायो ।
विद्यालयमा नियमित जसो साहित्यिक कार्यक्रमहरू हुन्थे । म यस्ता कार्यक्रमहरूमा सहभागी हुन्थेँ र रचनाहरू सुन्थेँ । यसैगरी कविता लेखेर सुनाउन सके कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो । तिमी पनि कविता लेखेर सुनाउन भन्नुहुन्थ्यो गुरूहरू । यही पृष्ठभूमिका बीचबाट मेरो कवितायात्राको आरम्भ भएको थियो । आमाले सुनाएका लोककथा, सुन्दर प्रकृतिबीचको बसाइ, वनपाखामा गाइने सुनिरहुँ जस्ता लाग्ने लोकगीतहरू, विद्यालयको साहित्यिक वातावरण, आर्थिक कठिनाइबाट जन्मिएका पीडा र नहुनेहरूको जीवनको दुःख मेरो कवितायात्रा आरम्भका कारकहरू थिए । आमाले सुनाएका लोक कथाहरूको सबैभन्दा धेरै प्रभाव परेको थियो ममा । मेरो कवितायात्राको आरम्भमा सबैभन्दा ठूलो भूमिका यसकै रहेको छ । दश कक्षासम्म आइपुग्दा देवकोटा, रिमाल, भूपिलगायत धेरै स्रष्टाका रचनाहरूसँग मेरो साक्षात्कार भयो । यिनीहरूको गहिरो प्रभाव ममा प¥यो । खासगरी रिमाल र भूपिको अलि बढी प्रभाव ममा परेको छ । म प्रगतिशील दृष्टिकोण राख्नेहरूको माझमा थिएँ । विद्यालयमा प्रगतिशीलहरूको बाहुल्य थियो । प्रगतिशील दृष्टिकोणबाट म प्रभावित भएँ । मेरो निम्नमध्यम वर्गीय स्थितिले मलाई उनीहरूको माझमा पु¥यायो । ‘हो ची मिन्ह जस्तो हुनुपरेको छ’ भन्ने मेरो कविता प्रगतिशील चेतनाको परिणाम थियो । हो ची मिन्हको जीवनी पढेपछि यो कविता लेखेको थिएँ । उनको सरल, सामान्य, आदर्श एवं त्यागले भरिएको जीवन अत्यन्त प्रेरक लागेको थियो मलाई । आज पनि उनी मेरा निम्ति उत्तिकै आदरणीय र प्रेरक रहेका छन् ।
पहिलो पटक मेरो कविता २०३१ सालमा वनारसबाट प्रकाशित हुने ‘सन्देश’ पत्रिकामा छापियो । ‘सन्देश’ मा कविता छापिएपछि म कविता सिर्जनामा अझ सक्रिय भएँ । त्यसपछि दुई तीन वर्ष पत्रिकामा रचना छापिएनन् । एसएलसी दिएपछि म आफैले केही कविताहरूको सानो पुस्तिका जस्तो बनाएर साथीभाइहरूका माझ बाँडँे । यो मेरो नौलो प्रयास थियो । साथीभाइहरूले मन पराएर हौसला दिए । मेरो कवितायात्राले अझ गति प्राप्त ग¥यो । २०३४ सालमा मेरो कविता दाङबाट भर्खर भर्खर प्रकाशित हुन थालेको ‘युगबोध’ पाक्षिकमा छापियो । त्यसको शीर्षक भने मेरो सम्झनामा छैन । त्यसपछि पत्रिकामा नियमित जसो मेरा कविता छापिन थाले । ‘वेदना’, ‘हलकारा’, ‘नेपालपोष्ट’लगायत राजधानीबाट प्रकाशित हुने विभिन्न पत्रिकाहरूमा कविता प्रकाशित भए ।
मेरो पहिलो कवितासङ्ग्रह ‘घाम छेक्न पहाड’ २०५५ सालमा प्रकाशित भयो । कविता लेख्न थालेको पच्चीस वर्षपछि सङ्ग्रह प्रकाशित भएको थियो । यसको कारक म आफै थिएँ । कविता सङ्ग्रह छिटो प्रकाशन गर्ने आकाङ्क्षा ममा कहिल्यै पलाएन । म लेखन अलि परिपक्व भएपछि सङ्ग्रह निकाल्नुपर्छ भनेर सोच्थेँ । भयो पनि त्यस्तै । मित्रहरूले धेरै आग्रह नगरेको भए ०५५ सालमा पनि मेरो कवितासङ्ग्रह प्रकाशित हुने थिइन । म किन हतार गर्नुप¥यो र भन्नेमा थिएँ । के हुने हो, कस्तो हुने हो भन्ने सङ्कोच पनि थियो । तर अन्ततः कवितासङ्ग्रह ननिकाली सुख पाइनँ । प्रकाशनको जिम्मेवारी ‘जनमत’ साहित्यिक पत्रिकाले लियो । कृति प्रकाशित भएर आयो । मेरो दोस्रो कवितासङ्ग्रह ‘तर पनि हामी जीवित छौँ’ २०६१ सालमा प्रकाशित भयो । ‘तन्नेरी’ साहित्यिक पत्रिकाले यसलाई प्रकाशित गरेको थियो । २०६४ सालमा ‘झिसमिसे’ साहित्यिक पत्रिकाले ‘दुःसाध्य समय’ प्रकाशित ग¥यो भने २०७१ सालमा ‘याम्बुरी’ प्रकाशनबाट ‘शब्दहरूको बीचमा’ कवितासङ्ग्रह छापियो । २०७३ सालमा ‘कौशिकी’ प्रकाशनले ‘समय संवाद’ प्रकाशित ग¥यो । यस कवितासङ्ग्रहमा यस अघिका चारवटा कविताकृतिबाट केही कविता छानेर राखिएको छ । यस अर्थमा यसलाई मेरा प्रतिनिधि कविताको सङ्ग्रह पनि भन्न सकिन्छ ।
मेरो कवितायात्रा अनेकन उकाली ओराली हुँदै यहाँसम्म आइपुगेको छ । कविता सिर्जनाका निम्ति समय, साधना, अध्ययन सबै चाहिन्छ । व्यवहारिक जीवन र सिर्जनात्मक जीवनका बीचमा रहने अन्तर्विरोध स्रष्टाका निम्ति सबैभन्दा बढी टाउको दुःखाइको विषय हुन्छ भन्ने लाग्छ मलाई । व्यवहारिक जीवनले व्यवहारिक मान्छे खोज्छ, सिर्जनाले स्रष्टा खोज्छ । व्यवहारिक मान्छे र स्रष्टा मान्छेका बीचमा संगति कायम गर्दै सिर्जनामा सक्रिय रहन त्यति सजिलो हुन्न । यी दुई जीवनका बीचमा बेलाबखत देखापर्ने गम्भीर बेमेलबाट कविता नै लेख्न छोड्ने हो कि सम्म भएको छ । महिनौँ कविता नलेखी बसेको छु । आफैसँग रिसाएको छु, आफैलाई गाली गरेको छु र भित्रभित्र रोएको छु । तर कविताबाट पर भाग्न सकिनँ । व्यवहारिक जीवन र स्रष्टा जीवनका बीचमा संगति कायम गर्दै हिँड्न खोजेँ र खोज्दै छु । कविता सिर्जनाको लामो यात्रामा कहिले सम्पादकले कविता नछापिदिएर रद्दीको टोकरीमा मिल्काइ दिएका नमिठा स्मृतिहरू छन् भने कहिले पूर्वाग्रह, इष्र्या र कुण्ठाका कारण नचाहिदो आरोपको शिकार हुनुपरेका कटु अनुभवहरू पनि छन् ।
एकपटक एउटा नाम चलेको साहित्यिक पत्रिकामा एकजनाले ‘कविता चोर’ को आरोप लगाए । भारतीय कविको नाम र उनको कविताको शीर्षक नै किटेर हुँदै नभएको कुरा कसरी लेख्न सकेको होला भनेर आश्चर्य लाग्यो । सम्पादकसँग कुरा गरेँ । सम्पादकले चोरी नै हो भनेर ढुक्कैसँग भने । एउटा सरकारी पत्रिकाको सम्पादकको ज्ञानको बिजोग देखेर दुःख लाग्यो । पछि मैले ती भारतीय कविको कविता र मेरो कवितासँगसँगै राखेर एउटा पत्रिकामा लेख नै लेखेर स्पष्ट गर्नुप¥यो । पछि थाहा भयो कविता चोरीको आरोप एउटा योजना अनुरूप नै लगाइएको रहेछ । लेखनको दुनियाँमा चल्ने राजनीतिको एउटा तस्बिर थियो यो । एकजना नाम चलेका पुस्तक समीक्षकले मेरो तेश्रो कविता कृति ‘दुःसाध्य समय’को एउटा दैनिक पत्रिकामा समीक्षा गर्दा ‘पार्टीको निर्देशनमा लेखिएको’, ‘कवि हुने रहर र दौडमा सामेल भएको’ भनेर टिप्पणी गरे । यो समीक्षा पनि मलाई उदेक लाग्दो लाग्यो । यसका पछि पनि ‘लेखनको राजनीति’ थियो । न कविता पार्टीको निर्देशनमा लेखिएका थिए न त म कवि हुने दौडमा सहभागी थिएँ । कविका रूपमा म स्थापित थिएँ र सङ्ग्रहका रचना काव्यात्मक मूल्यका दृष्टिले कमजोर पनि थिएनन् । तर राजनीति गरेपछि कसको के लाग्छ र ? कैयौँ समकालीन नेपाली कवि यस प्रवृत्तिबाट धेरै दंशित छन् । ईष्र्या, पूर्वाग्रह र कुण्ठाका कारण स्रष्टाहरुको समुुचित मूल्यांकन भएको पाइन्न । विभाजित र संकीर्ण समकालीन साहित्यिक परिदृश्यमा सन्तुलित मूल्याङ्कन गर्ने र अघिल्तिरको यात्राका निम्ति प्रेरित गर्ने असल स्रष्टा र द्रष्टाहरू पनि छन् । तीबाट सधैँ मैले माया, उर्जा र प्रेरणा प्राप्त गरेको छु । यसले मलाई लेखनमा सधैँ सक्रिय बनाएको छ र अघिल्तिर बढ्न हौसला दिएको छ ।
कविता सिर्जनाको शुरूतिर ममा कविताबारे स्पष्ट धारणा थिएन । कविताको प्रयोजनका बारेमा एकप्रकारले म अनभिज्ञ नै थिएँ । स्पष्ट धारणा नभए पनि मेरा कविता यथार्थसँग जोडिएका थिए । कवितामा जीवन थियो, सुखदुःख थिए, स्वप्न र सङ्घर्ष थिए । कलाका दृष्टिले कविता शिशु थिए तर तिनका हृदयमा आफू बाँचेको समयको आवाज थियो । क्रमशः म कविताको महत्व, यसको विशिष्ट प्रकृति, यसमा प्रतिबिम्बित जीवन, यसको स्थापत्य, यसको प्रयोजन आदिका बारेमा स्पष्ट हुँदै गएँ । यसका निम्ति झण्डै झण्डै एक दशक समय खर्चनु प¥यो । कवितासम्बन्धी ‘आधुनिकतावादी’ मान्यताहरूलाई मैले स्वीकार गर्न सकिनँ । कलावादी दृष्टिकोणको म आलोचक बन्दै गएँ । म कविता जीवनका निम्ति हुनुपर्छ भन्थेँ र जीवनलाई कुरूप बनाउने कारणहरू विरूद्ध उभिनुपर्छ भन्ने ठान्थेँ । मेरा निम्ति कविता सुन्दर जीवनका निम्ति संघर्ष गर्ने कलात्मक हतियार थियो । कविता समस्त असमानता र उत्पीडनका विरूद्ध उभिनुपर्छ र समानता, स्वतन्त्रता, सामाजिक न्याय, मानवीय गरिमा एवं सौन्दर्यका निम्ति हुनुपर्छ भन्थेँ म । कविता कविताका लागि, कवितामात्र आनन्दका लागि भन्ने धारणासँग मेरो सधैँ विमति रह्यो । आज पनि मेरो दृष्टिकोण यही रहेको छ । कविता आफ्नो समाजपरक र सौन्दर्यपरक भूमिकाकै कारण जीवित छ र रहनेछ । कविता बिम्बको भाषा हो । मनुष्यको मातृभाषा भन्छन् यसलाई चिन्तकहरू । कड्बेल यसलाई मनुष्यको माझिएको भाषा भन्न रूचाउँछन् र समाजरूपी सिपीबाट निस्कन्छ भन्छन् ।
म सरल, सरस र कलात्मक कविताबाट प्रभावित रहेँ । आफूले पनि त्यस्तै लेख्न प्रयास गरेँ । कविता बिम्बको भाषा भए पनि यो जटिल र अमूर्त हुनहुन्न भन्छु म । कुनै बेला नेपाली कविता फाँटमै जटिल र अमूर्त कविता प्रशस्त लेखिए । समकालीन नेपाली कविता सरल र सम्प्रेष्य छन् । कविताको सरलतामाथि जोड दिने मैले यसको कलात्मक पक्षलाई भने सधैँ उच्च महत्व दिएँ र कवितालाई कलाविहीन हुनबाट बचाउनुपर्छ भने । कविताको कलात्मक मूल्यलाई स्रष्टाले बिर्सिन मिल्दैन । बिर्सिए स्रष्टा नै भइँदैन । यसको विशिष्ट प्रकृति यसमा अन्तर्निहित आवेग, अनुभूतिको सूक्ष्मता, गहिरो संवेदना उदात्त भाव र यसको स्थापत्य नै हो । मैले जीवन र जगत्लाई यही मान्यताका आधारमा काव्यात्मक अभिव्यक्ति दिने प्रयास गरेको छु । मेरा कवितालाई जसले इमान्दार र संवेदनशील भइकन पढ्नेछन् उनीहरू मेरा कविताबाट निराश हुने छैनन् । कविताको रसास्वादनका निम्ति, त्यसको स्तरीयताको मापनका निम्ति सहृदयी हुन आवश्यक छ । सहृदयी पाठक, समीक्षकहरूबाट मात्र कवितामाथि न्याय हुन सक्छ । विचार एवं मूल्यबोधमा भिन्नता रहे पनि रचनाको इमान्दार पठन मूल्याङ्कनका निम्ति आवश्यक हुन्छ । म मेरो विचार र जीवनमूल्यभन्दा परका रचनाहरूलाई यसै गरी पढ्न कोसिस गर्छु । दृष्टिकोणका आधारमा म उनीहरूका कृतिहरूको इमान्दार पठनलाई पाखा लगाउँदिनँ । आग्रह मुक्त भएर पढ्छु र आफ्ना टिप्पणीहरूलाई त्यसै गरी राख्छु । पूर्वाग्रह, संकीर्णता, यान्त्रिकता, जडता, मतान्धता, इष्र्या, कुण्ठाले रचनाको बोधमा व्यवधान खडा गर्छन् भन्ने सौन्दर्यशास्त्री बोरोन्स्कीको भनाइ मलाई निकै घत लाग्छ । मेरा निम्ति कविता मात्र होइन समग्र साहित्य एक गम्भीर सिर्जनात्मक कर्म हो । कवितामा अनुभूतिको उच्च महत्व रहन्छ तर यो विचारबाट, मूल्यबाट, आस्था र प्रतिबद्धताबाट मुक्त रहन्न । जीवनभन्दा बाहिर साहित्यको कुनै अर्थ छैन । जीवनमा यसको महत्व अनुभूतिको कलात्मक प्रकटीकरणका कारण मात्र रहेको होइन, कुरूपका विरूद्ध सङ्घर्ष र नयाँ रचनाको चाहनाका कारण पनि रहेको हो । गरिबी, असमानता, अन्याय, उत्पीडन, हिंसा, हातहतियारको होडबाजी आदिले भरिएको संसारमा कविता कसरी वैयक्तिक सुख–दुःखको राग मात्रै बनिरहन सक्छ र ? स्रष्टाले यी सबैप्रति कसरी आँखा चिम्लन बन्छ र ? साहित्यलाई जीवन, समाज र त्यसको रूपान्तरणको भूमिकाबाट अलग गर्नु साहित्यको मूल्यलाई नै नष्ट गर्नु हो ।
सिर्जनात्मक जीवनको लामो बाटो हिँडेपछि आफूलाई फर्किएर हेर्न मन लाग्दोरहेछ । कति गरियो, कति गर्न सकिएन, जे जति गरियो कस्तो गरियो ? अब कति गर्न सकिएला ? भनेर मूल्याङ्कन गर्ने चाहना जाग्दोेरहेछ । आफ्नो कविता यात्रालाई लिएर सन्तुष्टि–असन्तुष्टि दुवै छन् मसँग । सन्तुष्टि कवितायात्रामा नथाकिकन हिडेको छु र केही गरेको छु भन्ने कुरालाई लिएर छ, असन्तुष्टि सोचेजति गर्न सकिनँ भन्ने विषयलाई लिएर छ । कुनै पनि स्रष्टाका सबै रचना राम्रा हुँदैनन् । अत्यन्त प्रतिभा सम्पन्न स्रष्टाका रचना पनि सबै राम्रा हुँदैनन् । म त त्यो कोटीको स्रष्टा नै होइन । त्यसैले मेरा र मेरा रचनाका अलि बढी सीमा हुनु स्वाभाविक छ । मेरा रचनाका सीमाका बारेमा पनि मलाई थाहा छ र त्यसको अतिक्रमणका निम्ति सङ्घर्षरत पनि छु । आउँदा दिनहरूमा मबाट कस्ता कविता सिर्जिइने छन्, तिनको कलात्मक मूल्य के हुनेछ, पाठकबाट रूचाइने छन् वा रूचाइने छैनन्, म केही भन्न सक्तिनँ तर मेरो प्रयास अझ राम्रा कविता लेख्ने हुनेछ । कविता मनुष्यको मातृभाषा हो र यसलाई राम्रोसँग बोल्न जान्नुपर्छ भन्छु म । आज कवितामाथि चारैतिरबाट प्रहार छ । कविता यस विरूद्ध सङ्घर्ष गर्दै अघिल्तिर प्रस्थान गर्न चाहन्छ । वैश्विक पुँजीवाद, यसले निर्माण गरेको उपभोक्तावादी समाज, यसबाट निर्मित मूल्य, यसका कला मान्यताहरू, यसको मनोविज्ञान कुनै पनि कविताका पक्षमा छैनन् । यस्तो बेला कवितालाई अझ बढी माया गर्नुपर्छ र त्यसलाई आम मानिसको हृदयसँग संवाद गर्न सक्ने बनाउनुपर्छ । मनुष्यत्वको रक्षाका निम्ति कविताको आवश्यकता छ । कविता मरे हाम्रा भावना, संवेदना, अनुभूति, गतिमयता, सुन्दर स्वप्न र सङ्घर्ष सबै मर्छन् ।
सुख–दुःख, सजिलो–असजिलो, उज्यालो–अँध्यारो दुवै बेलामा मैले कविता गनुगुनाउँदै आएको छु । जीवनको कठिन बाटोमा कविता मेरा निम्ति अक्षय उर्जाको स्रोतका रूपमा रहेको छ । पाब्लो नेरूदाका शब्दमा कविता मेरा निम्ति ‘पवित्र कार्यवाही’ हो, जसको मूलमा सुन्दरको असीम भोक हुन्छ र त्यसका निम्ति सङ्घर्ष गर्ने आँट पनि । लेर्माेन्तोवले भन्ने गरेको ‘चमत्कारी आवेग’ जीवनको सुन्दरताको चाहनासँग जोडिनैपर्छ । रूसी कवि ब्लोकले कुनै बेला कविको जीवनसँगको विच्छेदलाई लिएर ‘जीवनसँग मेरा नाता टुटिसक्यो’ भनेर मार्मिक अभिव्यक्ति दिएका थिए । यो टिप्पणी एक खास स्थिति र प्रवृत्तिमाथि लक्षित थियो । यो स्थिति आज पनि विद्यमान छ । म सधैँ यसबाट बच्न कोसिस गरेको छु र आफ्नो काव्यकर्मको प्रयोजनप्रति स्पष्ट र सजग छु ।
कविताबाहेक मैले समालोचना र निबन्धमा पनि लामो समयदेखि कलम चलाउँदै आएको छु । मेरो कलम सैद्धान्तिक र प्रायोगिक दुबै समालोचनामा चलेको छ । मबाट सैद्धान्तिक समालोचना बढी लेखिएको छ । माक्र्सवादी साहित्य चिन्तनका आधारमा मैले साहित्यसम्बन्धी सिद्धान्त र व्यवहारिक समालोचनामा कलम चलाउँदै आएको छु । समालोचना मेरा निम्ति गम्भीर कर्म हो र यो कर्म प्राज्ञिक गहिराइ, इमान्दारी र मूल्य आधारित भएर सम्पन्न गरिनुपर्छ । मैले समालोचना कर्मलाई यसै अनुरूप अघि बढाउन प्रयत्न गरेको छु । यस क्षेत्रमा अझ धेरै गर्नुछ भन्ने लाग्छ । मेरा धेरै जसो निबन्धहरू समसामयिक विषयसँग सम्बन्धित छन् । चारदशकदेखि मैले अखबारमा नियमित स्तम्भ लेख्दै आएको छु । मेरा धेरै जसो निबन्धात्मक रचनाहरू यही स्तम्भका उत्पादन हुन् । कैयौँ रचनाहरू जीवनका अन्य विषयहरूसँग सम्बन्धित छन् । संस्कृतिसँग सम्बन्धित विषयहरूमा पनि मैले कलम चलाएको छु । सिर्जनात्मक र प्राज्ञिक कर्मका अतिरिक्त मेरो समय साहित्यको संस्थागत उन्नयनमा पनि खर्च भएको छ र हुँदैछ । एक स्रष्टाका रूपमा परिवर्तनका निम्ति चलेका आन्दोलनहरूमा मेरो सक्रिय सहभागिता रहँदै आएको छ । मैले जेल र प्रहरी हिरासतको यातना पनि खपेको छु । मेरो स्रष्टा जीवन सिर्जना र संस्थागत सक्रियताको संगमका रूपमा रहेको छ । मलाई पढ्न मेरो संस्थागत सक्रियताको लामो यात्रालाई पनि नियाल्नुपर्छ । जीवनका छ दशकभन्दा बढी समय बितेका छन् तर सुन्दर सिर्जनाको भोक मरेको छैन । आउँदा दिनहरूमा सिर्जनात्मक र प्राज्ञिक कर्मलाई अझ गहिराइ प्रदान गर्ने प्रयत्न मबाट हुनेछ ।