डा.अमर गिरी दाङ,
जीवनका दुःखहरूलाई
टिभीका पर्दामा
चलचित्र हेरेझैं हेरिरहेकी छु
म बुधना गाउँकी जूनमाया हुँ
सक्छौ भने तिमी पनि मेरा दु:खहरूलाई हेर
शब्दमा उन, गीत गाऊ
दु:खले भरिएका अक्षरहरू पनि
म जस्तै राेऊन्,कराऊन् र आक्राेशित बनून् ।
ठूला सपनाहरू थिएनन् मसँग
असम्भव सपनाहरू त झनै थिएनन्
साधारण मानिस जस्तै हुन्छन्
साधारण मानिसका सपना
ठूला सपनाहरू देख्न
गाह्राे हुन्छ साधारण मानिसलाई
ठूलैले देख्ने हाे ठूला सपना त
सानाकाे हक हुन्न त्यसमाथि
पृथ्वीमा याे हक खाेसिएकाे पनि
हजारौं वर्ष भइसक्यो
सपनाहरूकाे पनि
वर्ग, लिङ्ग ,जात र वर्ण हुन्छ
तिनले खाेसेका
सपनाहरूकाे चिहान पनि त हाे नि संसार
त्यही चिहानमाथि छाै हामी ।
जूनमायाका सपनाहरूलाई
पूरा गरेका छाैं भनेर
कसैले दावी गर्छ भने
शतप्रतिशत झुटाे हाे त्याे
यस्तो दावी सबैभन्दा बढी सरकारले गर्छ
त्यसपछि क्रमशः अरूले गर्छन्
लाम लाग्छ दावी गर्नेहरूकाे
म र म जस्तै जूनमायाहरू निसास्सिन्छन् दावीमा
सरकार छ , देश छ
शङ्का लाग्छ
शङ्काकाे इतिहास पनि
लामाे छ देशकाे इतिहास जत्तिकै ।
आफैसँग प्रश्न गर्छु
मसँग देश छ कि छैन
नागरिक हुँ कि हाेइन म यस देशकाे
भाेट हाल्छु ,सरकारहरू बन्छन्
बन्छन् , भत्कन्छन्, बन्छन्
हेर्ने त जीवनलाई हाे
हामीलाई अहिलेसम्म
देशले बचाएकाे थाहा छैन
आफ्नै सपनाहरूकाे चिहान बनाएर
बरु हामीले बचाएका छाैं देशलाई
ऊ त्याे परकाे डाँडालाई हेर
त्यहाँ असमयमै गरिबीले मरेका
धेरै जूनमायाका चिहानहरू छन् ।
थरीथरीका भक्षकहरूका बिचमा छु म
नयाँ – पुराना, शिष्ट – अशिष्ट, कठाेर- नरम
थरीथरीका
बद्लिएकाे भनेकाे देशको तस्बिर हाे याे
बद्लिएकाे देशकाे अनुहार देखाउने
म आफै एउटा ऐना हुँ
यस ऐनामा प्रष्ट देखिन्छन्
भक्षकहरू कसरी आरूढ छन् देशमाथि
म देशलाई घाेडा बनाइरहेको हेर्न विवश छु।
देश हेर्नेले सिंहदरबार हेरेर हुन्न
सहरका अग्ला घर र फराकिला बाटा हेरेर हुन्न
उदाउँदै गरेकाे सूर्यकाे प्रकाशमा
सुनका पहाड जस्ता लाग्ने
हिउँका पहाडहरू हेरेर हुन्न
गाेधूलि साँझमा आकाशमा उड्दै गरेका चरा
र शस्यश्यामला पहाडहरू हेरेर हुन्न
मिठा तर झेली कुरा सुनेर हुन्न
कहिल्यै कार्यान्वयन नहुने घाेषणापत्र
र झुटा प्रतिवेदन पढेर पनि हुन्न
देश हेर्न हेर्नुपर्छ हामीलाई
पढ्नुपर्छ शिरदेखि पाउसम्म
सुन्नुपर्छ हाम्रो ह्रदयमा बजिरहेकाे दु:खकाे सारङ्गी
र त्यसबाट निस्किरहेकाे आक्राेशकाे लय ।