अम्बिका कडेल, रुपन्देही ।
मेरा बा,
मेरो बिद्यालयको ,
परीक्षा शुल्क तिर्न,
ऋण खोज्दै हुनुहुन्छ।
म,
एडम स्मीथको
धनको परिभाषा घोक्दैछु।
मेरा बा,
काम माग्दै सहरमा ,
भौतारिरहनुहु्न्छ।
म,
अर्थतन्त्रमा पूर्ण रोजगारीको,
अवस्था दोहोर्याउदै छु।
मेरी आमा,
ठाँउ ठाँउमा टालेको चोली,
पछ्यौरीले छोपेर,
मलाइ ममताले ओत्नुहुन्छ।
फाटेको गुनियु सिएर,
मेरो ओछ्यान मिलाउनु हुन्छ।
म,
महिला शसक्तिकरणको ,
आवश्यकता र महत्व बारे,
कापीमा नोट बनाउदैछु।
मेरा बा,
मेरो पोषाकका लागि,
साहुका छोराछोरीको,
जड्यौरी माग्दै हुनुहुन्छ।
म,
राष्ट्रिय,अन्तराष्ट्रिय बजार,
थोक बजार र खुद्राबजार,
उत्कृष्ट र निकृष्ट वस्तु,
भन्ने,लेख्ने र सम्झने
प्रयत्न गर्दैछु।
मेरी दिदि,
घरमा दुइ छाक पुर्याउन,
खाडीमा पसीनाले,
भिज्दै हुनुहुन्छ।
म,
कुल,औसत र,
सिमान्त उपयोगीताका,
तालिका र रेखाचित्र
बनाउदै छु।
भोकले पेट
कोक्याएको बेला,
क्यान्टिनको झ्यालबाट,
आएको परिकारको बास्नाले,
मुख रसाउँछ।
अनायासै हातहरुले ,
गोजी छाम्छन्।
च्यातिएको गोजीको प्वालबाट,
हात गुप्ताङ्गमा पुग्दा,
झसंङ्ग हुन्छु।
अनि थाहा पाउँछु,
मेरो सरिरमा त,
पुरै लुगा पनि छैन।
मैले गोजीमा के खोजेको होला!
अनि आफैसंग लजाउँछु।
कठै मेरो अर्थशास्त्र ।