अम्बिका कडेल, रुपन्देही

सानो हुँदा,
सानै हुन्छन् सपना,
बढ्दै जाँदा बढ्दै जान्छन् सपना,
जब रोकिन्छ उचाइ,
जब चुलिन्छ जिम्मेवारी,
अजिङ्ङो बन्न थाल्छन् सपना,
साँच्चिकै,
हिड्छन् सपनाहरु।
जब मन खुशी हुन्छ,
उचाइमा उड्छन् सपना,
जिम्मेवारीसंगै गुड्छन् सपना,
साँच्चिकै ,
हिड्छन् सपनाहरु।
कहिले शहरमा हुन्छन्,
अनौठो प्रहरमा हुन्छन्,
कहिले त्रास डरमा हुन्छन्,
कहिले बगरमा हुन्छन् सपना।
साँच्चिकै,
हिड्छन् सपनाहरु।
कहिले मिलन गराउछन्,
कहिले बिछोड गराउँछन्,
कहिले जोडी बनाइदिन्छन्,
कहिले बिजोडी,
सबै गरिसकेपछि,
यो त भ्रम हो सबै,
भन्ने निचोड गराउँछन्।
कहिले मसान घाट पुर्याउछन्,
आफैलाइ अन्तिम बिदाइ गराउँछन्,
कहिले पुर्याउँछन् सर्बोच्चतामा,
कहिले रहमा ढुबाउँछन्।
साच्चिकै,
हिड्छन् सपनाहरु।
कहिले मजदुर बनाउँन,
कहिले मालिक बनाउँछन्,
कहिले योद्दा त कहिले,
सालिक बनाउँछन्।
साँच्चिकै,
हिड्छन् सपनाहरु।
अचेल,
अचेल सपनाहरु फेरिएछन्,
कहिले अस्पताल देखाउछन्,
एक्सरे ,र दबाइ देखाउँछन्,
मुटु च्यातेर भित्रै लुक्छन,
सास निस्कने ठाँउ खोज्छन्,
आँखाबाट निस्कन्छन्,
मन मुटुमा हिड्छन् सपनाहरु,
साँच्चिकै,
हिड्छन् सपनाहरु…

प्रतिक्रिया

सम्बन्धित खवर