-अम्बिका कडेल
महल ठुलो छ,
भित्ता मजबुत छन्,
तर, छानो बिरानो छ ।
समभाव अटाउन सकेनन।
म थाक्नु हुन्न,
थाकेँ भने
जुठेल्नामा भाँडा रुन्छन।
भकारोमा पाडो रुन्छ।
आगन,संघारहरु रुन्छन्,
बिलौना गर्छन्।
सबैले भन्छन्,
घर यो तिम्रो होइन,
तर,
आगनले मेरै बाटो हेर्छ,
अगेनाले मेरै बाटो हेर्छ।
बार्दलिले चियाइरहन्छ,
झ्याल ढोका चुकुलहरु,
खोलिन अन्कनाउछन्,
मैला लुगाहरु मलिन हुन्छन्।
मेरो अस्तित्व रुचाउने,
मेरा निर्जिव आफन्तहरु,
म मर्दा मेरै सति जाने जस्तो
कुरा गर्छन।
मैले मिठा सपना देख्न हुन्न,
रहररु देखाउनु हुन्न मैले।
जबर्जस्ती
दृश्यहरु दृष्टिबिहिन बनाउनुपर्छ।
हिड्न नजाने झै हिड्नुपर्छ,
बोल्न नजाने झै बोल्नुपर्छ।
मिठो बोले नि नमिठो हुन्छ।
कम बोले म घोसे,
बढि बोले म चोथाले,
त्यसैले त आज ,
शब्दहरु बटुलेर,
अक्षर अंकमाल गर्दैछु,
वाक्य साथी हुन्छन्,
रचना सारथी।
यहाँ संसार त धेरै ठुलो छ,
सांसारिकता साघुँरो छ।
यहाँ सबै अटाउछ,
तर,
भरोसा अटाउदैन।
विस्वास अटाउदैन।
त्यसैले
नग्न विचारहरु ,
नलजाइ अट्टहास
गरिरहेका छन…!
-देवदह, रुपन्देही ।



S.K. Creative Media Group