-रिमा के.सी., काठमाडौं ।
आमा मलाई योनिको ठाउँमा
एक थान धारिलो तरबार उमारेर जन्माऊ
ताकी, मेरो अस्मिता लुट्नेको गर्धन छिनाल्न सकूँ

संवेदनशील अङ्गहरुको साटो
शरीरमा तीखा काँडाहरु उमारेर पठाऊ
ता कि चिथोर्न सकूँ
मेरो शरीर लुछ्ने पापी अनुहारहरुलाई
रक्ताम्य पार्न सकुँ तिनको तुच्छ हवसलाई
पैदा गराइदेऊ छालामा हाइभोल्टेज करेन्ट
कसैले छुने कल्पनासम्म गर्न नसकोस

रगतको सट्टा भरिदेऊ डिजेल र पेट्रोल
मेरा भावनामाथि खेल्नेहरुलाई
निमेषभरमै खरानी बनाउन सकूँ

मेरा आँखाका ग्रन्थीहरुमा देऊ
आँसुको बदलामा मट्टीतेल उत्पन्न गर्ने शक्ति
ता कि
कसैले रुवाउने आँट सम्म पनि गर्न नसकोस

आमा बिन्ती छ मेरो !
मेरा स्तनहरुमा ग्रिनेड फिट गरिदेऊ
कसैको पागलपनको सिकार हुनुअघि
भस्म गर्न सकूँ ती नरपिशाचहरुलाई

अभिमन्यूले गर्भमै
चक्रव्यूह भेदन कला सिकेजस्तै
तिम्रो पाठेघरको पाठशालामै
प्रशिक्षण दिएर पठाऊ
यो संसारमा स्वयं लड्न सकुँ
कथित आफन्तको आवरणका यौनपिपासुदेखि
साराका सारा कामवासनाका नरभक्षीहरुविरुद्ध
अस्तित्व रक्षा निम्ति विजयको भीषण युद्ध

मेरा अस्थिपन्जर हड्डी होइन फलामले बनाऊ
मेरो अनुहारमा तेजाब हाल्ने
नराधम टाउकोहरुको भकुण्डो खेल्न सकूँ
मांशपेशीहरु भित्र फिट गरिदेऊ बारुदी सुरुङ
कसैको घृणित स्पर्श मात्रैले पनि
ध्वस्त होस ती कुपात्रको नामोनिशान

आमा अब अति भो !
सहनशीलताको सीमा समाप्त भइसक्यो
सुन्दा सुन्दा बलात्कारका कुसमाचार
फाटीसके कानका जालीहरु
संवेदनाका धुकुधुकी सबै मुर्झाइसके
लज्जावती लाचार नारी भएर जन्मिन
अब मलाई कत्ति मञ्जुर छैन आमा

कृपया अब बदलिदेऊ
प्रकृतिको सृष्टिको प्रयोगशालाको नियम
र बनाऊ शक्तिशाली आत्मसुरक्षाको पूर्ण व्यक्तित्व
अनि मात्रै हुनेछ
तमाम अन्याय, शोषण र बलात्कारको अन्तिम पटाक्षेप ….

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय