![](https://saharakhabar.com/wp-content/uploads/2023/12/403412905_1381234862493284_307865698724291606_n.jpg)
प्युठान । प्युठानमा एचआईभी संक्रमितको संख्या १ सय ३२ पुगेको छ । जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा ११ जना, २०७८/०७९ मा १८ र २०७९/०८० म २१ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेले जानकारी दिनुभयो । अहिले एक सय ३२ जना संक्रमित रहेको र उनीहरू सबैले एआरटी लिईरहेका छन । एचआईभी सम्वन्धी गाउँघरमा अझै पनि जनचेतनाको अभाव रहेको र घरघरमै पुगेर परिक्षण गर्नुपर्ने प्रमुख पाण्डेले बताउनुभयो ।
![](https://saharakhabar.com/wp-content/uploads/2023/12/Hiv-1024x576.jpg)
ग्राफ : स्वास्थ्य कार्यालय प्युठान
घरघर पुगेर एचआईभी परीक्षण गरिदै
जिल्लाभर अहिले घरघरमै पुगेर एचआईभी परीक्षण गर्न थालिएको छ । एचआईभी तथा क्षयरोग रोकथाम कार्यक्रम अन्तरगत घरमै पुगेर निःशुल्क रुपमा परीक्षण गर्ने गरिएको हो । परीक्षणका लागि जिल्लाका स्थानीय तहमा समुदाय परिचालक खटिएका छन् । भारतमा रोजगारीका लागि जाने व्यक्ति र उनको परिवारलाई लक्षित गरि सेभ द चिल्ड्रेन/ग्लोबल फन्डको सहयोगमा मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्रले कार्यक्रम सञ्चालन गरेको हो ।
घरमा पुगेर परीक्षण गरिनुका साथै घुम्ती शिविर मार्फत समेत सेवा प्रवाह गर्ने संस्थाले जनाएको छ । त्यसका लागि स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरि शिविर गर्ने गरिएको संस्थाका कार्यक्रम संयोजक कुशल चौधरीले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षमा १५ हजार पाँच सय ८४ जनाको एचआईभी परीक्षण गरिएकोमा ९ जना संक्रमित पत्ता लागेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा छ हजार सात सय १७ जनाको परीक्षण गर्ने लक्ष्य रहेको चौधरीले जानकारी दिनुभयो ।
संक्रमितको हेरचाहमा सहयोग
एचआईभी संक्रमितहरुको साझा संस्था प्युठान प्लसले संक्रमितहरुको हेरचाहमा सहयोग गर्दै आएको छ । राष्ट्रिय एचआईभी तथा एड्स महासंघसँगको साझेदारीमा केयर एण्ड सर्पोट कार्यक्रम सञ्चालन गर्दै आएको कार्यक्रम तथा वित्त अधिकृत तपेन्द्र वि.क.ले जानकारी दिनुभयो । जस अन्र्तगत संक्रमितले एआरभी सेवा लिन आउँदा निःशुल्क आवाशीय व्यवस्था गर्ने गरेको छ ।
त्यसैगरी, एआरभी सेवा नियमित सेवन गर्न परामर्श तथा सहयोग गर्ने, उपचारमा सहयोग गर्ने, भाइरल लोड जाँच गर्नका लागि नमुना संकलन तथा ढुवानीमा सहयोग गर्ने लगायतका कार्य गर्दै आएको कार्यक्रम तथा वित्त अधिकृत विकले जानकारी दिनुभयो । प्युठान प्लसले एचआईभी र एड्स सम्वन्धी जनचेतना फैलाउने, संक्रमितलाई गुणस्तरीय सेवा दिन सहजीकरण गर्ने लगायतका कार्य गर्दै आएको छ ।