प्युठान । प्युठान उद्योग वाणिज्य संघ, प्यूठान नगर बजार क्षेत्रले घर धनीहरुलाई घर बहाल तत्कालको अवस्थामा नबढाउन अनुरोध गरेको छ ।

 

आज बाग्दुलामा बसेको नगर उद्योग वाणिज्य संघको बैठकले राष्ट्रव्यापी आर्थिक मन्दीको कारण व्यापार व्यवसायमा उल्लेखनीय सुधार नआएकाले दोहोरो सहमति बेगर एकतर्फी घर बहाल नबढाउन अनुरोध गर्ने निर्णय गरिएको अध्यक्ष प्यार अलि खानले जानकारी दिनुभयो ।

 

“यहाँ आफू खुशी २० प्रतिशतसम्म घर बहाल बढाएको देखियो,”अध्यक्ष खानले भन्नुभयो, “व्यापार व्यवसाय चौपट छ, दिनहुँ व्यापारीहरु पलायन हुँदैछन्, यस्तो अवस्थामा घर बहाल वृद्धि गर्नु जायज छैन् र हुँदैन ।”

नगरपालिका भित्र विशेष गरी विजुवार र बाग्दुला क्षेत्रमा रहेका ब्यापारिक प्रतिष्ठान रहने घर धनीहरुले भाडामा अस्वभाविक वृद्धि गर्ने गरेको व्यवसायीहरुले गुनासो गर्ने गरेको बजार क्षेत्रका सचिव कमल पौडेलले बताउनुभयो ।

“भाडा वृद्धि दरमा कतै १० प्रतिशत कतै २० प्रतिशत कायम गरिएको छ,” पौडेलले भन्नुभयो, “व्यापार व्यवसाय अलि सहज अवस्थामा नआउँदासम्म घरबेटीहरुले भाडा बृद्धि नगराईदिँदा राम्रो हुने थियो ।” बाग्दुला पुल्चोक बजार तथा उपल्लो बजार सडक छेउमा मासिक २० देखि ३५ हजारसम्म सटरको भाडा कायम गरिएको छ । डेराका लागि बजार क्षेत्रका घरहरूमा ३ हजार देखि ५ हजारसम्म कोठाको भाडा लिइँदै आएको व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय