तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाको ठूलोपहिरोमा बस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन्। जिल्लाको म्याग्दे गाउँपालिका-६, स्थित पृथ्वी राजमार्गअन्तर्गतमा पर्ने मौरीबजार ठूलोपहिरोमा बिहीबार बिहान दुर्घटना भएको हो।
वीरगञ्जबाट पोखरा आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख १२०६ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर सडकदेखि करिब २० मिटर तल खसेर दुर्घटना भएको तनहुँ प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये २९ जनाको तनहुँको बेलचौतारा स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ। अन्य तिनजना मध्य दुई जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र एक जनालाई मणिपाल शिक्षण अस्पतालमा थप उपचारका लागि रेफर गरिएको तनहुँ प्रहरीले जनाएको छ।
घाइतेमध्ये एक जनाको अवस्था अलि गम्भीर रहेको, १७ जना मध्यम र १४ जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।