सत्यराज सिंह, बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा रहेको ऐतिहासिक हात्तीसार दरवारको संरक्षणका लागि बृहत छलफल भएको छ । शुक्रबार बैठकमा हात्तीसार दरवारको मर्मत सम्भार र सुरक्षाको बारेमा छलफल गरिएको हो ।
विहिबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा दरबारको मर्मत संम्भारको विषयमा कुरा उठेपछी शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाजका अगुवा र पत्रकारहरूको उपस्थिति उक्त छलफल गरिएको प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठीले जानकारी दिनुभयो।
बैठकमा जिल्ला समन्वय समिति प्रमुख नर बहादुर बोहराले हात्तीसार दरवार ऐतिहासिक भएकाले यसको संरक्षणका लागि केवल मर्मत सम्भार मात्र गर्नु पर्याप्त नभई यसलाई दीर्घकालीन सुरक्षित राख्नका लागि समग्र योजना बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हात्तीसार दरवारको संरचनामा सुधार गर्दै, यसको ऐतिहासिक स्वरुपलाई कायम राख्दै संरक्षणका लागि उपाय खोज्न जरुरी छ । यसमा सबैको सहयोग पनि महत्वपुर्ण छ ।’
हात्तीसार दरवारको संरक्षणका लागि यो ऐतिहासिक सम्पत्तिलाई सामाजिक र सांस्कृतिक केन्द्रको रूपमा पुनः विकसित गर्नका लागि व्यापक योजना बनाउन जरुरी रहेको नेपाली काँग्रेसका प्रवक्ता रमानन्द जोशीले बताउनुभयो । नेकपा एमालेका सचिव नयन बोहराले हात्तीसार दरवारको संरचना मर्मत गर्नको लागि यसको ऐतिहासिक महत्वलाई ध्यानमा राख्दै मर्मत सम्भार गर्नुपर्ने र यसलाई सुरक्षित राख्नका लागि जनशक्ति खटाउनु पर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘हात्तीसार दरवारको संरचना र इतिहासमा कुनै प्रकारको नकरात्मक असर नपर्ने गरी मर्मत सम्भार गर्नुपर्छ ।’
छलफल पछी बैठकले हात्तीसार दरवारको संरक्षणका लागि डोटीमा रहेको सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयलाई साविकको बनावटमा असर नपर्ने गरी मर्मत सम्भार गर्न अनुरोध गर्ने निर्णय गरेको छ । बैठकमा सहभागीहरुले यस कार्यमा ऐतिहासिक संरचनाको मर्मत सम्भार र सुरक्षा सुनिश्चित गर्न स्थानीय सरकार, जनसहभागिता र विशेषज्ञहरूको समन्वयमा काम गर्नुपर्ने बताएका छन् ।
उक्त बैठकमा जिल्ला समन्वय समिति प्रमुख नर बहादुर बोहरा, जिल्ला समन्वय समिति उप–प्रमुख कृष्ण बहादुर विष्ट, प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठी, नेपाली काँग्रेसका प्रवक्ता रमानन्द जोशी, नेकपा एमालेका सचिव नयन बोहरा, रास्वपाका प्रतिनिधि प्रयागराज जोशी, राप्रपाका पुर्व अध्यक्ष विश्वप्रकाश जेठारा, नेकपा एसका सचिव लक्ष्मीराज जोशी, नागरिक समाजका अगुवा र पत्रकारहरुको सहभागिता रहेको थियो ।
वि.सं. १९४५ तिर निर्माण गरिएको यो दरबारमा जिल्ला प्रशासन कार्यालय रहँदै आएको थियो । २०६९ सालमा जिल्ला प्रशासन कार्यालय नयाँ भवनमा सरेपछि दरबार अलपत्र जस्तै बनेको थियो । ६ वर्ष पछि मात्र दरबार संरक्षणको काम गरिएको हो । बझाङी राजा जयपृथ्वीबहादुर सिंहले १९५१ सालतिर तराईबाट हात्तीको छावा ल्याएर राखेको हुनाले हात्तीसार दरबार नामकरण गरिएको हो । यस दरबारको निर्माणमा सालको काठ, ढुंगा र मासको गारो प्रयोग गरेर निर्माण गरिएको राप्रपाका पुर्व जिल्ला अध्यक्ष विश्वप्रकाश जेठाराले बताए । दरबार हाल संरक्षणका अभावमा जिर्ण रहेको छ ।




S.K. Creative Media Group