प्यूठान । गौमुखी गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसाद गर्ने उदेश्यले गौमुखी भ्रमण वर्षको सुभारम्भ गरिएको छ । शनिबार बिहान संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले शनिबार उक्त भ्रमण वर्षको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले पर्यटन पुर्वाधार निर्माण, भ्रमण, समृद्धि र बिकास निम्ति भ्रमण बर्ष सफलताको कामना गर्नुभयो । यो भ्रमण वर्षले अरु स्थानीय तह, प्रदेश सरकार र संघ सरकारलाई समेत जोड्ने बिश्वास व्यक्त गर्नुभयो ।

उहाँले पर्यटन बोर्डको शाखा लुम्बिनी प्रदेशमा बिस्तार गर्ने योजना रहेको सुनाउनुभयो । निजी क्षेत्र र सरकारबीच समन्वय गरेर बोर्डले बिभिन्न पर्यटन प्रवर्द्धनका गतिविधि गर्ने गरेको स्मरण गराउनुभयो । एउटै पालिकाभित्र थुप्रै पर्यटकीय स्थान भएको थाहा पाउदा खुसी लागेको मन्त्री पाण्डेले बताउनुभयो ।

गौमुखी गाउँपालिकाको १८ औं गाउँसभाले गौमुखी भ्रमण वर्ष २०८२ मनाउने निर्णय गरेको र सोही अनुसार कार्यक्रम अगाडी बढाइएको गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले बताउनुभयो । गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्ने उदेश्य लिएर भ्रमण वर्ष मनाउन लागिएको अध्यक्ष गिरीको भनाई छ ।

पालिका भित्र रहेका झरना, तालतलैया, जंगल, धार्मिक क्षेत्रमा आन्तरिक पर्यटकलाई भित्र्याउने उदेश्यले भ्रमण वर्ष मनाउन लागिएको गाउँपालिकाले जनाएको छ । गौमुखी गाउँपालिका भित्र गौमुखी, बाइसमुल झरना, झाक्रिढुङ्गा, तामाखानी, नाङ्गी लेक, गुफा, रानीताल, गोद्रेचौर लगायतका घुम्ने स्थान रहेका छन ।
गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले स्थानीय पर्यटकीय क्षेत्रसँगै स्थानीय सोरठी, मारुनी, झ्याउरे, पञ्जेबाँचा लगायत कला संस्कृतिको प्रर्वद्धन समेत हुने अपेक्षा गरिएकोे बताउनुभयो । पर्यटकका लागि अहिले गौमुखी नजिकै अर्खा गाउँमा होमस्टे समेत सञ्चालनमा आएको छ ।

आन्तरिक पर्यटकलाई ट्रेकिङ सहित २/४ दिन गौमुखीका विभिन्न ठाउँमा घुम्ने वातावरण वनाउन भ्रमण वर्षले सहयोग गर्ने पालिकाको अपेक्षा छ । यसअघि आर्थिक वर्ष २०७६/०७७ लाई गौमुखी पर्यटन वर्षको रुपमा मनाउने नीति अख्तियार गरेको थियो । गौमुखीमा पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले मिडिया सम्मेलन समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय