काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । लामिछानेलाई उहाँको घरमै पुगेर पक्राउ गरिएको हो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा जाने आदेश दिएसँगै प्रहरीले उहाँलाई पक्राउ गरेको हो । उहाँको निवास बूढानीलकण्ठबाट शुक्रबार साँझ रविलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उहाँलाई शुक्रबार थुनामा पठाउने आदेश गरेको थियो ।
उक्त मुद्दामा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको थियो । उक्त आदेश चित्त नबुझाउँदै उहाँ साधारण तारेखमा छाड्नुपर्ने मागसहित उच्च अदालत जानुभएको थियो । उच्च अदालतले उक्त मुद्दा बदर गर्दै रविलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।
रवि लामिछाने काठमाडौं परिसरको थुनामा
उच्च अदालतको आदेशलगत्तै पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिएको छ । हिजो नै भैरहवा लैजान सम्भव नभएपछि उहाँलाई काठमाडौं मै हिरासतमा राखेर शनिबार भैरहवा लगिने प्रहरीले जनाएको छ।
गिरफ्तारी दिनेभन्दा पनि आफूलाई राति घरमा आएर पक्राउ गरिएकोमा लामिछानेले आफूमाथि राज्यआतंक भएको प्रतिक्रिया दिनुभयो थियो। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले थुनामा पठाउने अदालतको आदेशको आफूले सम्मान गर्ने आजै आफूले गिरफ्तारी दिने उहाँको भनाइ छ । आफूमाथि ठुलो अन्याय भएको र अदालतका अन्य ढोका ढकढक्याउने उल्लेख समेत गर्नुभएको छ।



S.K. Creative Media Group