रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।
सोमबार दिउँसो करिब १२ बजे थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे.१ च ३११२ नम्बरको डबल क्याब जीप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा आठबिसकोट नगरपालिका–५ निवासी १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा १९ वर्षीया जुना कुमारी थापा, ३५ वर्षीय वीरबहादुर थापा, २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनि थापा, ८ वर्षीय युवराज थापा र ४ वर्षीया विरता थापा गम्भीर घाइते रहेको प्रहरीको भनाइ छ ।
त्यस्तै, २५ वर्षीया हिरा थापा र २ वर्षीय गौरव थापा मध्यम अवस्थामा घाइते भएका छन्। २३ वर्षीया सुशिला थापा एरी, २८ वर्षीया भावना थापा एरी, २७ वर्षीया खिममाया थापा, २० वर्षीया रमिता एरी र १९ वर्षीया निर्मला एरी सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार सामान्य तथा मध्यम अवस्थाका घाइतेलाई दिउँसो १ः२० बजे उपचारका लागि नगर अस्पताल राडी पठाइएको छ। अन्य घाइतेलाई समेत उपचारका लागि पठाउने पहल भइरहेको छ।
जीप आठबिसकोट नगरपालिका–४ निवासी २५ वर्षीय प्रदीप विकले चलाएका थिए। दुर्घटनापछि चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमाण्डमा चार जना तथा इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चपागाईँको कमाण्डमा सात जनाको प्रहरी टोली खटिएको थियो।
दुर्घटनाग्रस्त जीप घटनास्थलमै रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


S.K. Creative Media Group