प्यूठान । भारतको उत्तर प्रदेशस्थित भारतीय जनता पार्टी (भाजपा) का प्रदेश संगठन मन्त्री राम सिंहासन सिंह नेपालको प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारी मन्दिरको दर्शनका लागि प्यूठान आउनुभएको छ । सोमबार स्वर्गद्वारी पुग्नुभएका सिंहले मंगलबार बिहान मन्दिरमा पूजाआजा तथा दर्शन गर्नुभएको हो ।

पहिलोपटक स्वर्गद्वारी मन्दिर पुग्नुभएका सिंहले आफूले सुनेकोभन्दा निकै फरक र सुन्दर अनुभूति गरेको प्रतिक्रिया दिनुभयो । स्वर्गद्वारी नामले मात्रै नभई यहाँको प्राकृतिक सौन्दर्य, धार्मिक महिमा र शान्त वातावरणले पनि स्वर्गकै अनुभूति गराउने उहाँको भनाइ थियो ।

नेपालको स्वर्गद्वारी मन्दिरको धार्मिक महिमा र महत्वबारे आफूले धेरै सुनेको बताउँदै उहाँले पारिवारिक सदस्यसहित मनको शान्ति र आध्यात्मिक अनुभूतिका लागि यहाँ आएको बताउनुभयो । उहाँले नेपाल आउँदा गौरवान्वित भएको बताउनुभयो । मन्दिरमा पाएको माया र सम्मान प्रती निकै खुशी समेत व्यक्त गर्नुभयो ।

दर्शनपछि उहाँले नेपाल प्राकृतिक सौन्दर्य र धार्मिक सम्पदाले भरिपूर्ण शान्तिको देश भएको उल्लेख गर्दै देशको विकास, समृद्धि र स्थायित्वका लागि नेपाल सरकार तथा सम्पूर्ण राजनीतिक दलका नेताहरूलाई आपसी एकता र सहकार्यका साथ अघि बढ्न सुझावसमेत दिनुभयो ।

उहाँले हिन्दु परम्परा अनुसार पुजापाठ समेत गर्नुभएको थियो। पुजा गर्ने क्रममा मन्दिरमा रहेका गाइलाई नुन तथा पराल समेत खुवाउनु भएको थियो ।

उहाँसँगै परिवारका सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठानका जिल्ला सभापति विकास पोख्रेल पनि स्वर्गद्वारी दर्शनमा सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय