रुकुमपश्चिम । रुकुम पश्चिममा यात्रु बोकेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, भने दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । शुक्रबार साँझ जिल्ला सदरमुकाम मुसिकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप बाँफिकोट गाउँपालिका -७ लिस्नेमा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डीएसपी प्रमेश विष्टले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा आठबिसकोट–१ का १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीय कल्पना नेपाल, २८ वर्षीय सबिता विक, १५ वर्षीय दिलमाया बुढा, आठबिसकोट–२ की १७ वर्षीय मनिका ओली, १८ वर्षीय शर्मिला विक, २२ वर्षीय गोपाल ओली र आठबिसकोट–३ की कमला ओली रहेका छन् ।

त्यसैगरी घाइते हुनेमा आठबिसकोट–१ की १७ वर्षीय सिर्जना बुढा, १५ वर्षीय सपना नेपाल, १८ वर्षीय जुना बुढा, १७ वर्षीय संगीता बुढा, १९ वर्षीय शान्ति बुढा, १७ वर्षीय अञ्जना ऐरी, २० वर्षीय महिमा ओली, १७ वर्षीय मनिषा थापा, १५ वर्षीय सबिता विक र मुसिकोट–२ का चालक टोपजंग बुढा रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये जुना बुढालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ भने बाँकी नौ जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको डीएसपी विष्टले जानकारी दिनुभयो ।
मृतक र घाइते सबै एक कार्यक्रममा सहभागी भएर गाउँ फर्किँदै गर्दा जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिप सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटना परेको प्रहरीको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय