प्यूठान । प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र, खलंगामा २७ औं राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइएको छ। “प्रकृति अनुकुल आहार औषधि र बिहार : रोगमुक्त समाजको आधार” भन्ने मूल ध्येयका साथ केन्द्रले कार्यक्रम आयोजना गरेको हो ।
अस्पताल विकास समितिका अध्यक्ष रमेश विश्वकर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि खड्काले रैथाने तथा परम्परागत आयुर्वेद चिकित्सा पद्धतिलाई स्थानीय स्तरमा अझ बढी प्रवर्द्धन र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी दशरथ राई र नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले नागरिकको बदलिँदो जीवनशैलीका कारण बढ्दै गएका नसर्ने रोगहरू न्यूनीकरण गर्न आयुर्वेद र आरोग्यता सम्बन्धी सचेतना गाउँ-गाउँसम्म पुर्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
समारोहमा डा. आरजु राउतले धन्वन्तरी जयन्ती र राष्ट्रिय आरोग्य दिवसको महत्त्व, इतिहास तथा दैनिक जीवनमा आयुर्वेदको उपयोगिताका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो ।
निमित्त कार्यालय प्रमुख टुक बहादुर रोकाले संचालन गर्नुभएको थियो ।


S.K. Creative Media Group