गोरखा । बजारमा प्रतिकिलो ३० देखि ३५ रुपियाँसम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २ सय रुपियाँसम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ ।
नेपालमा नुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो २६ रुपियाँ, न्यू शक्ति नुनको २० रुपियाँ र भानु नुनको नौ रुपियाँ तोकेको छ । तर, हिमालपारिको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा आयो नुनको मूल्य प्रतिप्याकेट ६० देखि २ सय रुपियाँसम्म पर्ने गरेको छ ।
गाउँ जति विकट छ, नुनको मूल्य पनि त्यति नै बढी छ । मनास्लु क्षेत्रअन्तर्गत तिब्बती सीमावर्ती सामागाउँ र साम्दोमा प्रतिप्याकेट आयो नुनको मूल्य २ सय रुपियाँ पर्छ । तल्लो क्षेत्रमा ३० रुपियाँमा पाइने एक प्याकेट नुन साम्दोसम्म पुर्याउन ढुवानीमै १ सय रुपियाँ खर्च हुने स्थानीय निमा दोर्जेले बताउनुभयो । “पाङसिङबाट साम्दोसम्म एकपोका नुन ल्याउँदा ढुवानी भाडामात्रै १ सय रुपियाँ पर्छ । आरुघाट र आर्खेटबाट पाङसिङसम्मको ढुवानी खर्च छुट्टै छ । त्यसपछि पसलेले पाँचदेखि १० रुपियाँ नाफा राख्दा एकपोका नुनको मूल्य २ सय रुपियाँ पुग्छ”, उहाँले भन्नुभयो ।
सामागाउँभन्दा केही तल वडा नं २ को ल्हो गाउँमा खाद्यान्न ढुवानी भाडा प्रतिकिलो ८० रुपियाँ पर्ने भएकाले एक प्याकेट आयोनुनको मूल्य १ सय ५० रुपियाँ पर्ने गरेको छ । गाउँपालिका–५ बिहीमा भने प्रतिप्याकेट १ सय रुपियाँमा नुन पाइने स्थानीय काल्देन छेवाङले बताउनुभयो । “पाङसिङदेखि बिहीसम्म खच्चडबाट सामान ढुवानी गर्दा हिउँदमा प्रतिकिलो २५ रुपियाँ भाडा लाग्छ । त्यतिबेला नुनको मूल्य १ सय रुपियाँ पर्छ”, उहाँले भन्नुभयो, “वर्षायाममा ढुवानी भाडा प्रतिकिलो ७० रुपियाँसम्म पुग्छ । त्यसअनुसार सामानको मूल्य पनि बढ्छ ।”
वडा नं ४ प्रोकमा पनि ढुवानी खर्चका आधारमा प्रतिकिलो नुनको मूल्य १ सय देखि १ सय ७० रुपियाँसम्म पर्ने स्थानीयवासीले बताएका छन् ।
त्यस्तै, चुम उपत्यकाका अन्तिम बस्ती छुले र निलेका बासिन्दाले एक प्याकेट आयोनुनको १ सय ८० देखि २ सय रुपियाँसम्म तिर्ने गरेका छन् । पाङसिङबाट डेढदेखि दुई दिनको पैदलदूरीमा रहेका ती बस्तीमा खच्चडबाट सामान ढुवानी गर्दा प्रतिकिलो ६० रुपियाँ भाडा लाग्ने गरेको छ । त्यहाँबाट केही वर रहेको लामागाउँसम्म ५५ रुपियाँ र छेकम्पारको छेकम गाउँसम्म प्रतिकिलो ५० रुपियाँ ढुवानी भाडा पर्ने लामागाउँका पासाङ फुन्जो लामाले जानकारी दिनुभयो ।
छेकम्पारका गाउँबस्तीमा एक प्याकेट आयो नुनको मूल्य १ सय ५० रुपियाँ पर्छ । गाउँपालिका–६ चुम्लिङमा भने एक प्याकेट आयो नुनको १ सय रुपियाँ पर्ने स्थानीय गोपाल लामाले बताउनुभयो । उहाँका अनुसार पाङसिङबाट चुम्लिङसम्म खाद्यान्न ढुवानी गर्दा प्रतिकिलो ३० रुपियाँ भाडा लाग्छ । सरकारले विकट हिमाली क्षेत्रका बासिन्दालाई सहुलियत दरमा नुन उपलब्ध गराउन ढुवानी अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


S.K. Creative Media Group