राजेश शर्मा
नेपालको राजनीतिक क्षितिजमा विगत केही दशकदेखि एउटा गम्भीर प्रश्न निरन्तर उठिरहेको छ— के पुराना राजनीतिक शक्तिहरूबाट अब देशको कायापलट सम्भव छ? दशकौंदेखि व्यवस्था बदल्न लडेका दलहरूले अवस्था बदल्न नसक्दा नागरिकमा वितृष्णा मात्रै चुलिएको छैन, बरु एउटा वैकल्पिक नेतृत्वको तीव्र भोक पनि जागेको छ। भ्रष्टाचारको कहालीलाग्दो जालो, थला परेका संवैधानिक निकायहरू र सत्ताको लुछाचुँडीले गर्दा आम सर्वसाधारणमा ‘परम्परागत दल’ शब्द नै निराशाको प्रतीक बनिरहेको वर्तमान अवस्थामा नयाँ सोच र जोसको खोजी हुनु स्वभाविक हो। अहिलेको पुस्ता, विशेष गरी ‘जेनेरेसन जेड’ (Gen-Z), सूचना प्रविधिको पहुँच र विश्वव्यापी चेतनाका कारण हिजोको जस्तो ‘अन्धभक्त’ छैन। युवाहरूले राजनीतिक दलको झण्डा बोक्नुभन्दा बढी देशको भविष्य र आफ्नो करियरको सुरक्षा खोजिरहेका छन्, जसका कारण ‘जेएनजेड’ ले सुरु गरेको सामाजिक तथा राजनीतिक जागरणले नेपाली राजनीतिको पुराना भित्ताहरूलाई नराम्ररी हल्लाइदिएको छ।
नेपालमा भ्रष्टाचार व्यक्तिगत नभई संस्थागत बन्दै जानु र ठुला काण्डहरूमा संलग्न दोषीहरू राजनीतिक संरक्षणका कारण उम्किनुले लोकतन्त्रको उपहास गरिरहेको छ। राज्यका संयन्त्रहरू शक्ति केन्द्रको इशारामा चल्नु र नागरिकहरूले सामान्य सेवा-सुविधाका लागि पनि सरकारी कार्यालयमा सास्ती खेप्नुपर्ने बाध्यताले नै ‘विकल्प’ को खोजीलाई एउटा अनिवार्य आवश्यकता बनाइदिएको हो। यही रिक्तता भर्नका लागि नयाँ अनुहार र विचारहरूको उदय भइरहेको छ, जसले पुराना दलहरूलाई पनि आत्मसमीक्षा गर्न ठुलो दबाब सिर्जना गरेको छ। नयाँ शक्तिहरूले ‘मेरो दल’ भन्दा ‘मेरो देश’ र ‘मेरो एजेन्डा’ भन्ने संस्कारको विकास गर्न खोजे पनि यो बाटो सोचेजस्तो सहज भने देखिँदैन। एकातिर नयाँ नेतृत्वमा अनुभवको कमी र जटिल कर्मचारीतन्त्र बुझ्न समय लाग्ने जोखिम छ भने अर्कोतिर काठमाडौँ र ठुला सहरहरूमा देखिएको आकर्षणलाई गाउँगाउँसम्म सांगठनिक रूपमा पुर्याउनु एउटा ठुलो पहाड सरहको चुनौती हो। केवल ‘विरोध’ का लागि मात्र वैकल्पिक हुने कि ठोस र कार्यान्वयनयोग्य कार्यदिशा बोक्ने भन्ने प्रश्नको उत्तरमा नै यी शक्तिहरूको भविष्य अडिएको छ।
वैकल्पिक शक्तिले कहिलेकाहीँ पपुलिज्म (लोकरिझ्याइँ) को सहारा लिने जोखिम पनि उत्तिकै रहन्छ, जसले पर्याप्त तयारी र दूरदृष्टि बिना पुनः निराशा निम्त्याउन सक्छ। तर, इतिहास साक्षी छ कि परिवर्तन सधैं जोखिमकै बीचबाट आउँछ र आजको युवा वर्गले खोजेको विकल्प केवल ‘अनुहार’ को फेरबदल होइन, बरु राज्य सञ्चालनको ‘कार्यशैली’ मा आमूल परिवर्तन हो। पारदर्शिता, जवाफदेहिता र सुशासन नै नयाँ वैकल्पिक राजनीतिको मुख्य कसी हुनुपर्छ। परिवर्तन कुनै एक व्यक्ति वा दलको लहडमा मात्र आउने विषय होइन, यसका लागि सचेत नागरिक समाजको निरन्तर खबरदारी र विवेकपूर्ण हस्तक्षेप अपरिहार्य छ। अबको निर्वाचनमा मतदाताले केवल भावनात्मक कुरामा बहकिएर होइन, उम्मेदवारको योग्यता, नैतिकता र उसले प्रस्तुत गरेको स्पष्ट मार्गचित्रका आधारमा मतदान गर्नुपर्छ। वास्तविक परिवर्तनको संवाहक चुन्ने जिम्मा अन्ततः सचेत नागरिककै काँधमा छ।
निष्कर्षमा, नेपालको राजनीति अहिले एउटा ऐतिहासिक संक्रमणकालीन मोडमा उभिएको छ। पुराना दलहरूको असफलताले वैकल्पिक राजनीतिको जग त बसालिदिएको छ, तर यसलाई मजबुत र परिणाममुखी बनाउने काम नयाँ नेतृत्व र सचेत मतदाताकै हो। यदि वैकल्पिक भनिएका शक्तिहरूले पनि पुरानै प्रवृति र सत्तामोह दोहोर्याए भने देश झन् ठुलो अस्थिरता र संकटमा फस्नेछ। तसर्थ, आशाको यो दियोलाई जोगाइराख्न र लोकतन्त्रलाई थप सुदृढ बनाउन सही विकल्पको चयन र सत्तामा बस्नेहरूलाई निरन्तर प्रश्न सोध्ने बानी नै आजको राष्ट्रिय आवश्यकता हो। नागरिकहरूले आफ्नो विवेक प्रयोग गरी वास्तविक परिवर्तनको पक्षमा उभिनु नै भविष्यको सुन्दर नेपाल निर्माण गर्ने एकमात्र मार्ग हो।
लेखक प्युठान न.पा ८ बाग्दुला निवासी कानुनको विद्यार्थी हुनुहुन्छ ।



S.K. Creative Media Group