प्यूठान । ऐरावती गाउँपालिका वडा नम्वर २ को ऊखुबारी बस्तीमा सवैको घरमा खानेपानी सुविधा पुगेको छ । २७ घरधुरी र गाउँकै एक प्राथमिक विद्यालयमा खानेपानी धारा निर्माण भएका छन् ।

ऐरावती गउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्थाको साझेदारीमा उखुबारी खानेपानी सरसफाई तथा स्वच्छता आयोजना सम्पन्न भएर घरघरका खानेपानी धारा बनेका हुन् । नेवाको ११ लाख २५ हजार १०८ रुपियाँ, ऐरावती गाउँपालिकाको सात लाख ५६ हजार ९१७ रुपियाँ र उपभोक्ता समितिको श्रमदान पाँच लाख ९३ हजार ६५६ रुपियाँ लगानी रहेको उपभोक्ता समितिका अध्यक्ष कमल नेपालीले जानकारी दिनुभयो ।

गाउँकै पुरानो खानेपानी योजना जिर्ण भएपछि नयाँ खानेपानी योजना निर्माण भएपछि सहज भएको उहाँले बताउनुभयो । “खानेपानी योजना बनाउन ठूलो श्रमदान गरेका छौं,” उहाँले भन्नुभयो, “यसको दिगोपन र संरक्षणका लागि पनि मर्मत संभार कोष बनाएका छौं ।”
गाउँपालिकाले पालिकामा खानेपानी सुविधा पुर्‍याउन नेवासँग साझेदारी गरि विभिन्न खानेपानी आयोजना निर्माण अघि बढाएको वडा नम्वर २ का वडा अध्यक्ष भिमेस कुमार घर्तिले बताउनुभयो । नेवासँगको साझेदारीले दुर्गम ठाउँका बस्तीमा एक घर एक धारा निर्माण गर्न सहज भएको उहाँको भनाई छ ।

ऐरावती गाउँपालिकामा चालु आर्थिक वर्ष २०८२/०८३ मा चार वटा खानेपानी आयोजना निर्माण भएका छन । वडा नम्वर २ मा एउटा, वडा नम्वर ३ मा एउटा र वडा नम्वर ४ मा दुई वटा आयोजना निर्माण भएको नेवाका वरिष्ठ आयोजना संयोजक भरत भट्टले बताउनुभयो । उक्त आयोजनाबाट समुदायमा ३१७ वटा र विद्यालयमा पाँच वटा खानेपानी धारा निर्माण भएका छन । जसबाट दुई हजार २०२ जना लाभान्वित भएको भट्टले बताउनुभयो ।

आयोजनाले स्वच्छ खानेपानीसँगै सफा र स्वच्छ समुदाय बनाउने अभियान समेत अघि बढाएको छ । घरमा भाँडा माफ्‌नो ठाउँ, भाडाँ सुकाउने चाङ, फोहोर व्यवस्थापन गर्ने खाडल, हात धुने ठाउँ समेत बनाउन उपभोक्तालाई प्रेरित गर्ने गरेको संयोजक भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय